काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काँधमा अझै जिम्मेवारी रहेकाले राजीनामा नदिने बताएका छन् ।
केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले प्रस्तुत गरेका धारणामाथि जवाफ दिँदै अध्यक्ष ओलीले राजीनामा नदिने बताएका हुन् ।
बैठकमा केन्द्रीय सदस्यहरुले अध्यक्ष ओलीलाई पद हस्तान्तरण गर्न सुझाव दिएका थिए । एक केन्द्रीय सदस्यकाअनुसार अध्यक्ष ओलीले काँधमा अझै आफ्नो जिम्मेवारी रहेको बताएका छन् ।
ओलीको भनाई उदृत गर्दै ती केन्द्रीय सदस्यले भने, ‘केही साथीहरुले राजीनामा त माग्नु भयो, तर मेरो काँधमा धेरै जिम्मेवारी छ । त्यसैले त्यो जिम्मेवारी पूरा नगरी पद छाड्दिनँ ।’
अध्यक्ष ओलीले सरकारले आफूलाई पटक–पटक थुन्ने प्रयास गरेको बताएका छन् । उनले भने, ‘यो सरकारले मलाई पटक–पटक थुन्ने प्रयास गरिरहेको छ । त्यसका लागि छलफल गरिरहेका छन् ।’
उनले पार्टीका विषयमा पार्टीभित्रै बोल्न पनि नेताहरुलाई आग्रह गरे । उनले भने, ‘पार्टीभित्र छलफल गरौँ । फेसबुकमा लेख्ने र संचारमाध्यममा गएर अन्तरवार्ता दिने काम नगरौं ।’