काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलनमा २२ जना प्रदर्शनकारीको मृत्यु भएको जनाएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी सेनाले कुल ७६ मध्ये २२ प्रदर्शनकारीको मृत्यु भएको जानकारी दिएको हो ।
बाँकी मृतकमा ३ जना प्रहरी, १० जना कैदी र अन्य ४१ जना रहेका सेनाको युद्ध कार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले जानकारी दिए । उनकाअनुसार आन्दोलनमा ६८८ वटा सरकारी कार्यालय, २५९ वटा निजी निवास, १२८ वटा व्यापारिक प्रतिष्ठान, १९८ वटा राजनीतिक दलका कार्यालय, ३०७ वटा प्रहरी कार्यालयमा आगजनी तथा तोडफोड भएको छ ।
त्यस्तै जेनजी आन्दोलनमा नेपाली सेनाले ६१ विशिष्ट र २३ नेपाल प्रहरीलाई सेनाद्वारा हवाई उद्धार गरेको जनाएको छ । त्यस्तै जमिनबाट १२९ जनाको उद्धार गरिएको थापाले जानकारी दिए । उनले जेनजी आन्दोलनपछि ‘आवश्यकताको सिद्धान्त’ अनुसार आवश्यक पहल लिइएको बताए ।
थापाले जेनजी आन्दोलनको तरङ्ग केही अघिबाटै देखिएको भएपनि त्यसको विकासक्रम अचानक रूपमा प्रस्तुत भएको बताए । उनले राष्ट्रका महत्वपूर्ण संरचनामा क्षति हुनु दुःखद भएको बताए ।
उनले भने, ‘सिंहदरबार लगायतका संरचनाबारे उठेका प्रश्नहरू अत्यन्तै वैध छन् । राष्ट्रका महत्वपूर्ण संरचना क्षति हुनु दुःखद हो, तर तत्कालीन अवस्थालाई हेर्दा सेनाको कारबाही दुरूस्त र सटीक थियो।’
थापाले सेनाले कम घातक नियन्त्रणको उपाय अपनाएको दाबी गरे । उनले भिड नियन्त्रण गर्न ४६ राउन्ड हवाई फायर गरिएको पटक पटक सिंहदरबार छिर्न खोज्नेलाई सेनाले फर्काएको बताए ।
उनले पछि चारैतिरबाट आक्रोशित भिड छिरेपछि मानवीय क्षतिको माध्यमबाट बाहेक नरोकिने कुरा प्रष्ट देखिएको बताए ।
उनले भने, ‘समग्र घटनाहरुमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलता लिएको र मानवीय सुरक्षा भौतिक सुरक्षा भन्दा महत्वपूर्ण रहेको बुझाई यहाँहरुलाई अनुरोध गर्दछु ।’