-तारा बस्नेत
राष्ट्रिय प्रजातन्त्र पार्टी उदयपुर जिल्ला अधिवेशन उद्घाटन भइसकेपछि निर्वाचन समितिले मतदाताको अन्तिम नामवली प्रकाशित गरेपछि मतदान प्रक्रिया सुरु हुनु भन्दा अगाडि गुन्डागर्दी शैलीमा निर्वाचन भाँड्ने, बिथोल्ने, मतदाता नामावली र मतपत्र च्यात्ने, अधिवेशन कब्जा गर्न खोज्ने कार्य निन्दनीय, आपत्तिजनक र भत्र्सना योग्य छन।म यसमा गम्भीर आपत्ति प्रकट गर्दछु ।
यस्तो कार्य जसले गरे– गराएको भएपनि विधान बमोजिम जिल्लाको बैठक तत्काल राखी बैठकबाट अधिवेशन भाँड्नेहरुलाई केन्द्रमा कारबाहीको सिफारिस सहित पठाउन र केन्द्रले तेरोमेरो नभनी निष्पक्ष छानबिन गरि पार्टीले तुरुन्त कारबाही गर्नुपर्छ अनिमात्र अधिवेशनको मिति केन्द्रीय निर्वाचन समितिले घोषणा गर्नुपर्छ।निर्वाचनमा जसले जित्ला उसलाई अध्यक्ष मान्न हामी तयार छौं ।पार्टीमा कुनै योगदान नभएका, केवल पार्टी कब्जा गर्ने खोज्ने उश्रृंखल तत्वहरुको पहिचान गरी पार्टीका कार्यकर्ता सामु त्यस्तो अनुहार सार्वजनिक हुनुपर्दछ।
राप्रपा एउटा विचार र सिद्धान्त हो । यहाँ विचारको बहस हुनु जरुरी छ । गुन्डागर्दीको हैन । पार्टीको संगठनमा कुनै दिन अनुहार नदेखिएका तर अधिवेशन भाँड्न परिचालित व्यक्तिहरुको कारण आज उदयपुर पार्टीमा निराशा छाएको छ।
जेनजी आन्दोलनको नाममा पार्टी कार्यालय तोडफोड गर्न केही पार्टीकै भिजिलान्तेहरु सक्रिय रहेको आज उदयपुरभरी हल्ला छ । आवश्यक परे नाम पनि भनुँला त्यसको कानुनी उपचार पनि खोज्ने नै छु ।
पार्टीको गुन्डागर्दीले संगठन हैन केबल पार्टी एउटा वर्गको घेरामा जाने निश्चित छ । यहाँ त अधिवेशन देखाउने दात मात्र रहेको छ । अधिवेशनमा उपस्थित सवै सार्वभौम प्रतिनिधिहरुको अपमान समेत भएको छ । प्रतिनिधिले आफूले चाहेको व्यक्तिलाई नेता चयन गर्न स्वतन्त्रतापूर्वक पाउन पर्नेमा यसको विरुद्धको गुन्डाराजले पार्टी लाइ काहा पुर्याउला ?
राप्रपा हजारौं कार्यकर्ताको रगत र पसिनाले गठन गरिएको पार्टी हो । उदयपुरको अधिवेशनले पार्टीमा बुढी मरी भन्दा नि काल पल्किएको सन्देश दिएको छ। यसमा पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरुको ध्यान जावस् । यसरी पार्टी भित्र जसले जे गरेनि हुने छुट दिने हो भने ७७ जिल्लामै अधिवेशन केवल नाटकको रुपमा मात्र मञ्चन हुने निश्चित छ। अधिवेशनमा उदयपुर जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने पार्टीका केन्द्रीय सदस्यहरुसमेत उपस्थित छन् उनीहरुले पनि सत्यतथ्य भन्नै र बोल्नै पर्छ ।
मन मारेर देखेको कुरा नभन्ने हो भने नेता झोलेमा परिणत हुन्छ । तसर्थ म तमाम केन्द्रीय तथा जिल्लास्तरका नेता कार्यकर्तालाई एकपटक उदयपुर राप्रपा अधिवेशनमा घटेको घटनाकोबारेमा चासो लिइदिन अनुरोध गर्दछु। फेरि पनि राप्रपा एउटा विचार हो भन्नेमा म प्रतिवद्ध छु तर राप्रपा कुन्डले, मुन्डलेहरुको रणमैदान हैन । ध्यान रहोस् सबैसँग समयले हिसाब गर्नेछ।
बस्नेत राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय सदस्य हुन् ।