अध्यक्ष ओली बिदा लिएर अभिभावक बन्ने बित्तिकै देशभर सकारात्मक सन्देश जानेछः नेतृ तिमिल्सिना

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनाले एकजनाको महत्वाकांक्षाका लागि सिङ्गो पार्टी कमिटीलाई विनाशतिर लैजान नहुने बताएकी छन् ।

पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा तिमिल्सिनाले पार्टी अध्यक्ष केपी शर्मा ओली अभिभावक बनेर बस्दा देशभर सकारात्मक सन्देश जाने बताएकी हुन् ।

उनले भनिन्, ‘एक व्यक्तिको महत्वाकाङ्क्षाका लागि सिङ्गो पार्टीको विकास र प्रगति अवरुद्ध पार्न हुँदैन । एमालेजस्तो लामो र गौरवपूर्ण इतिहास भएको पार्टी प्रतिक्रियात्मक हुन मिल्दैन। यो सङ्गठन जति जिम्मेवार र गम्भीर हुन्छ, आगामी राजनीति त्यस्तै हुन्छ । म जिम्मेवार निर्णय लिन नेतृत्वलाई विनम्रतापूर्वक आग्रह र अनुरोध गर्दछु ।’

उनले चरम अराजक, प्रतिगामीलाई पार्टीमा भित्राएको भन्दै नेतृत्वको आलोचना गरेकी छन् । उनले भनिन्, ‘एकपल्ट यो पनि सम्झिउँ सूर्य चिन्हमा चुनाव को–को र कस्ता प्रतिगामीहरू उठे ? दुर्गा प्रसाईंजस्ता चरम अराजक, प्रतिगामीलाई कसले माला लगाएर पार्टीमा भित्रायो ? तिनको जिम्मेवारी कसले लिने हो ? प्रसाईंलाई भित्राउँदै गर्दा को–को कमरेडहरूको राजनीतिक जीवनको कत्लेआम गरियो, त्यसकाबारे यहाँ कसैले–कसैलाई जवाफ दिनु पर्दैन ? आत्मालोचना गर्नुपर्दैन ?’

यस्तो छ तिमिल्सिनाको भनाई

१. विध्वंस, विनाश र वियोगान्त पछिको पछिको केन्द्रीय कमिटीमा छौँ, तर यहाँ त हामी नेतृत्वका प्रमुख व्यक्तिहरू सफल छन् भनिरहेका छौँ । उसाे भए अहिले असफल भएको चाहिँ काे हाे ? अस्तिभर्खर स-साना नानीहरूको कत्लेआम भयाे । खर्बाैंकाे सार्वजनिक र निजी सम्पत्तिमा आगलागी भयाे । ती सबैको नैतिक जिम्मा कसले लिने हो ? गोली हान्ने प्रहरीको हवलदारले लिने हो कि प्रहरी IGP लाई भागीदार बनाउने हो ? वा यसको नैतिक जिम्मेवार तत्कालको प्राधिकारको हुन्छ कमरेड ?

२. यतिखेर हामी कुन Conspiracy को कुरा गरिरहेका छौँ ? कुन–कुन वैदेशिक निकायहरू हुन् नेकपा एमालेविरुद्ध लागेका ? के हामी तिनलाई किटान गर्न सक्छौँ ? के कुनै एम्बेसीका अधिकारीहरू बोलाएर कुरा गर्न सक्छौँ ?

३. कमरेड ओली यो पार्टीको अध्यक्ष हुनुभएको ११ वर्ष भयो । यो ११ वर्षमा भएका अभ्यासहरूले हामीलाई, वाम आन्दोलन र सिंगो कम्युनिस्ट आन्दोलनलाई कता पुर्‍यायो ? नेकपा गठन एउटा महत्त्वपूर्ण कडी थियो तर त्यसलाई हामीले कस्ता-कस्ता अभ्यास र कस्ता ध्वंशकारी अभ्यास गर्‍याैँ ? एकपल्ट सम्झिऊँ, नागरिकहरूमा निराशा त्यहीँबाट सुरु भएको हो । Mass frustration छ र थियो । स्विकाराैँ ।

४. एकपल्ट याे पनि सम्झिऊँ सूर्य चिन्हमा चुनाव को–को र कस्ता प्रतिगामीहरू उठे ? दुर्गा प्रसाईंजस्ता चरम अराजक, प्रतिगामीलाई कसले माला लगाएर पार्टीमा भित्र्यायाे ?

५. तिनको जिम्मेवारी कसले लिने हो? प्रसाईंलाई भित्र्याउँद‌ै गर्दा को-को कमरेडहरूको राजनीतिक जीवनको कत्लेआम गरियो, त्यसकाबारे यहाँ कसैले–कसैलाई जवाफ दिनु पर्दैन ? आत्मालोचना गर्नुपर्दैन ?

६. २०७९ को निर्वाचनपछाडि सक्किनेकी सच्चिने भन्ने बहस चर्चामा थियो । आज अस्तिको भदाै २३/२४ पछाडि देश सक्किनेको सीमा कहाँसम्म हो भन्ने प्रश्न खडा भएको छ । यो Gen z आन्दोलनको एउटा जबरजस्त माग पार्टीका टेस्टेड नेतृत्व र पुस्ताले बिदा लेउ भन्ने न‌ै हो । त्यसलाई अनदेखा गर्न अब सकिन्न ।

७. हरेक समयमा देशको एउटा कार्यभार हुन्छ । आजको नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन हो । त्यसका लागि एमालेको पुनर्गठन महत्त्वपूर्ण छ । कांग्रेसमा त्यो सुरु भइसक्यो । अब अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छ । यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै सकिँदैन । यहाँले बिदा लिएर अभिभावक बन्ने बित्तिकै देशभर सकारात्मक सन्देश जानेछ कमरेड ओली ।

८. देशमा बरबादी छ, काम चलाऊ सरकार छ । संविधान सङ्कटमा छ । छिटोभन्दा छिटो संविधानलाई बाटोमा ल्याउनु छ । त्यसैले अब संसद्को पुनर्स्थापना होइन, निर्वाचनमा जानु पर्छ । यो समाजका अधिकांश स्टेकहोल्डरहरूले संसद् पुनर्स्थापना हुन पर्छ भनेर भनेको छैन, अतः हामी चुनावमा केन्द्रित हुन आवश्यक छ । तत्कालै नयाँ नयाँ नेतृत्वमा हामी चुनावमा गयौँ एमाले खरानी टकटक्याएर बौरनेछ ।

९. अन्यथा नलिनुहोला- मिनबहादुर गुरुङको सम्पत्तीमाथि हमला भयो, क्षति भयो, त्यसैले सहयोग फिर्ता गर्ने निर्णय गरौँ ।

१०. कमरेडहरू, राष्ट्र र पार्टीको जीवनमा एउटा महादुःस्वप्न (बिग नाइटमेयर) थियो भदाै २४ । त्यसबाट पनि हामीले चेतेनौँ भने इतिहासले हामीलाई धिक्कार्नेछ । एक जना व्यक्तिको महत्त्वाकाङ्क्षाका लागि सिङ्गो पार्टीको विकाश र प्रगति अवरुद्ध पार्नहुँदैन । एमालेजस्तो लामो र गौरवपूर्ण इतिहास भएको पार्टी प्रतिक्रियात्मक हुन मिल्दैन । यो सङ्गठन जति जिम्मेवार र गम्भीर हुन्छ, आगामी राजनीति त्यस्तै हुन्छ । म जिम्मेवार निर्णय लिन नेतृत्वलाई विनम्रतापूर्वक आग्रह र अनुरोध गर्दछु ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *