साना । यमनी हुथी विद्रोही समूहका सैन्य प्रमुख इजरायली आक्रमणमा मारिएका इरान समर्थित उक्त समूहले बताएको छ । समूहले आफ्ना सैन्य प्रमुखको हत्याको बदला लिने चेतावनी दिएको छ।
हुथी लडाकू समूहको सैन्य शाखाले जारी गरेको वक्तव्यमा भनिएको छ, “मेजर जनरल मोहम्मद अल–घमारीको इजरायली शत्रुविरुद्धको सम्मानजनक लडाइँमा मृत्यु भएको छ ।”
उनको मृत्युको घोषणा दुई वर्षे गाजा युद्धमा युद्धविराम भएको केही दिनपछि गरिएको हो । हुथीहरूले प्यालेष्टिनी हमास समूहमाथि इजरायलले गरेको आक्रमणको विरोध र प्यालेष्टिनी समूहको सहयोगका लागि प्रतिवद्धता जाहेर गर्दैे ‘रेड सी’ क्षेत्रमा बारम्बार इजरायली लक्षित आक्रमण भन्दै मालवाहक जहाजहरूमा आक्रमण गर्दै आएको थियो ।
हुथी समूहले आफ्ना सैन्य कमाण्डरविरूद्ध आक्रमण र को हत्याको मिति भने सार्वजनिक गरेको छैन । हुथीले आफ्ना कमाण्डर (सैन्य प्रमुख) सहित केही लडाकू र घमारीका१३ वर्षीय छोराको इजरायली आक्रमणबाट मृत्यु भएको बताएको हो ।
अन्तिम पटक सेप्टेम्बरको अन्त्यमा यमनमा भएको ठूलो इजरायली हवाई आक्रमणको लक्ष्यमा हुथी समूहको सैन्य मुख्यालय पनि परेको इजरायली सेनाले आक्रमणपछि सेप्टेम्बरमा नै जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको थियो ।
तर इजरायली रक्षा मन्त्री इजरायल काट्जले सामाजिक सञ्जाल एक्समा बिहीबार गरेको पोस्टमा अगस्टको अन्त्यमा भएको हमलामा हुथी प्रधानमन्त्री र उनको क्याबिनेटका आधाभन्दा बढी सदस्यको मृत्यु भएको थियो भने आक्रमणबाट घाइते बन्नुभएका घमारीको पछि मृत्यु भएको हुनसक्ने बताइएको छ।