काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन् ।
केन्द्रीय कमिटी बैठकलाई बिहीबार सम्बोधन गर्दै भट्टराईले अध्यक्ष ओलीले नै सहजतापूर्वक नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सार्नुपर्ने बताएका हुन् ।
उनले पार्टीमा नयाँ समयको चेतना र आवश्यकता प्रतिविम्बित हुनेगरी पुनर्गठन गरेर जनता र पार्टीपङ्क्तिको विश्वास जागृत गर्नुपर्ने बताए ।
उनल भने, ‘यसका लागि वर्तमान पार्टी अध्यक्ष कमरेडले सहजतापूवर्क नेतृत्व हस्तान्तरणको प्रस्ताव अघि सार्नु उपयुक्त हुन्छ। यसका दुईवटा बाटाहरु छन् । एक, तत्कालै पार्टीका वरिष्ठतम् नेतालाई कार्यवाहकको जिम्मेवारी दिएर आगामी महाधिवेशनबाट सहमति वा प्रतिस्पर्धाको आधारमा नयाँ नेतृत्व निर्वाचित गर्ने । र उक्त नेतृत्वको वरिपरि पार्टीलाई गोलबन्द र एकताबद्ध गर्ने। दोस्रो, पार्टी अध्यक्षको नेतृत्वमा महाधिवेशन सम्पन्न गर्ने। अध्यक्षले महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरणको पूर्वघोषणा गर्ने र महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गर्ने । यस मध्ये कुन विकल्पमा जाने अध्यक्ष कमरेडको अन्तरआत्मलाई छोडिदने।’