नयाँदिल्ली । एन्डिज पर्वतदेखि हिमालयसम्म युवा पुस्ताको असन्तुष्टि र निराशाबाट प्रेरित विश्वव्यापी विरोध आन्दोलनहरूको नयाँ लहर फैलिँदै गएको छ । सरकारहरूविरुद्धको आक्रोश र सुधारको मागले विश्वका विभिन्न मुलुकमा युवाहरू सडकमा उत्रिएका छन् ।
यसै साता मडागास्करका राष्ट्रपति एन्ड्री राजोलिनालाई सैनिक विद्रोहपछि पदबाट हटाइएपछि देश त्याग्न बाध्य हुनुपर्यो । यो परिवर्तन हप्तौँदेखि निरन्तर भइरहेका युवा नेतृत्वका आन्दोलनको परिणाम थियो । आफूहरूलाई ‘जेनेरेसन जेड मडागास्कर’ भन्ने ती प्रदर्शनकारीहरूले राजनीतिक प्रतिष्ठानविरुद्धको असन्तोषलाई सडकमा उतारेका थिए ।
हिन्द महासागरको उक्त टापु राष्ट्रमा उत्पन्न असन्तुष्टिको लहरले नेपाल, फिलिपिन्स, इन्डोनेसिया, केन्या, पेरु र मोरक्कोमा भइरहेका हालैका विरोध प्रदर्शनहरूको झल्को दिएको छ । यी आन्दोलनहरू विभिन्न तत्कालीन कारणहरूबाट सुरु भए पनि तिनीहरूलाई लामो समयदेखि जरा गाडेका असमानता, बेरोजगारी, भ्रष्टाचार र नेताहरूको नातावादले सघाएको छ ।
तर सबै आन्दोलनहरूको साझा विशेषता भनेको युवा पुस्ताको अग्रसरता हो । प्रायः नेतृत्वविहीन यी आन्दोलनका सहभागीहरू सन् १९९६ देखि सन् २०१० बीच जन्मिएका, इन्टरनेट युगमै हुर्केका ‘जेन जेड’ पुस्ताका हुन् ।
बेलायतस्थित अनुसन्धान संस्था सोसल चेन्ज ल्याबका निर्देशक स्याम नाडेल भन्छन्, “यी विरोधहरूको साझा भावना भनेको परम्परागत राजनीतिक प्रणालीहरूले युवा पुस्ताका चिन्ताहरू — चाहे भ्रष्टाचार, जलवायु सङ्कट वा आर्थिक असमानता — सम्बोधन गर्न सकेका छैनन् भन्ने हो । जब संस्थागत बाटोहरू बन्द हुन्छन्, विरोध नै तर्कसङ्गत विकल्प बन्छ ।”
– विश्वभरको आन्दोलन एक अर्काबाट प्रेरित –
विभिन्न मुलुकका यी आन्दोलनहरू सरकारको अतिक्रमण, उपेक्षा वा अन्यायपूर्ण नीतिबाट भड्किएका छन् । कतिपय देशमा सुरक्षा निकायको कठोर दमन र हिंसात्मक प्रतिक्रिया पनि देखिएको छ ।
मोरक्कोमा ‘जेनेरेसन जेड २१२’ नामक नेतृत्वविहीन समूह राम्रो सार्वजनिक सेवा र स्वास्थ्य–शिक्षामा खर्च बढाउन माग गर्दै सडकमा उत्रिएको छ । पेरुमा पेन्सन ऐन र व्यापक भ्रष्टाचारविरुद्धको विरोधले शासन सङ्कट निम्त्याएको छ । इन्डोनेसियामा सांसदहरूको भत्ता र जीवनयापन खर्चको मुद्दाले घातक प्रदर्शन निम्त्यायो । त्यसपछि राष्ट्रपति प्रमुख मन्त्रीहरू हटाउन बाध्य भए ।
दक्षिण एसियामा भने सबैभन्दा प्रभावशाली ‘जेन जेड आन्दोलन’ नेपालमा भयो । सेप्टेम्बरमा प्रधानमन्त्रीको राजीनामासँगै समाप्त भएको यस आन्दोलनले सन् २०२२ को श्रीलङ्काली र सन् २०२४ को बङ्गलादेशी आन्दोलनबाट प्रेरणा लिएको थियो । त्यसैको प्रभावमा मडागास्करका युवाहरूले पनि आन्दोलनलाई सशक्त बनाए ।
मडागास्करमा सुरुमा नियमित पानी र बिजुली कटौतीविरुद्ध सुरु भएको विरोध केही सातामै सरकारविरुद्धको व्यापक आन्दोलनमा परिणत भयो । अन्ततः बुधबार सैन्य नेताले आफू ‘राष्ट्रपति बनेको’ घोषणा गर्दै सत्ताको बागडोर सम्हाले ।
– ‘वन पिस’ झण्डा : पप संस्कृति र प्रतिरोधको प्रतीक –
यी आन्दोलनहरूमा एक साझा सांस्कृतिक प्रतीक पनि देखा परेको छ — कालो झण्डा । यसमा मुस्कुराइरहेको खोपडी र परालको टोपीसहित क्रसबोन्स चित्रित छ । यो जापानी मङ्गा ‘वन पिस’ बाट प्रेरित प्रतीक हो । यसले अन्यायपूर्ण सरकारविरुद्ध लड्ने समुद्री डाकुहरूको कथालाई चित्रित गर्छ ।
नेपालमा सिंहदरबार र मन्त्रालयहरूमा यही झण्डा प्रदर्शनकारीहरूले फहराएका थिए । यही प्रतीक फिलिपिन्स, इन्डोनेसिया, मोरक्को र मडागास्करमा पनि देखियो ।
पेरुको राजधानी लिमामा २७ वर्षीय इलेक्ट्रिसियन डेभिड टाफुरले सोही झण्डा बोकेर साप्ताहिक विरोधस्थल सान मार्टिन स्क्वायरमा उभिँदै भने, “हामी सबै भ्रष्ट र हत्यारा नेताहरूविरुद्ध एउटै युद्ध लड्दैछौँ ।”
उनका अनुसार पेरुमा सन् २०१७ देखि हत्या र जबरजस्ती असुलीका घटनाहरू बढेका छन्, तर सरकारले अपराधविरुद्धका प्रयासलाई कमजोर बनाएको छ । “शक्तिको दुरुपयोग र भ्रष्टाचारको विरोधमा हाम्रो आक्रोश स्वःस्फूर्त रूपमा सडकमा आएको हो”, उनले भने ।
गत हप्ता पेरुकी राष्ट्रपति दिना बोलुआर्टे अनुसन्धानको घेरामा परेपछि पदबाट हटाइएको थियो र अन्तरिम राष्ट्रपति जोसे जेरी नियुक्त भएको थियो । तर टाफुरले भने, “यो पर्याप्त छैन, किनभने नयाँ राष्ट्रपति पनि पुरानो सत्ताको सहयोगी हुनुहुन्छ ।”
– डिजिटल युगमा ‘जेन जेड’ आन्दोलनको रूपान्तरण –
इतिहासमा युवाले नै ठूलो आन्दोलनहरूको नेतृत्व गरेका छन् । सन् २०११ को अक्युपाई वाल स्ट्रिट, सन् २०१०–१२ को अरब स्प्रिङ र सन् २०१४ को हङकङको अम्ब्रेला क्रान्ति त्यसका उदाहरण हुन् । तर ‘जेन जेड’ ले डिजिटल मिडियाको प्रयोगलाई नयाँ उचाइमा पु¥याएको छ ।
“सूचना आदान–प्रदान र जनसम्पर्कका लागि डिजिटल प्लेटफर्महरू अब शक्तिशाली हतियार बनेका छन् । सबैभन्दा सफल आन्दोलनहरू तिनलाई भौतिक सङ्गठनसँग मिलाएर अघि बढाउँछन्”, नाडेलले स्पष्ट पारे ।
नेपालमा सरकारद्वारा सामाजिक सञ्जालमा लगाइएको अस्थायी प्रतिबन्धपछि युवाहरूले भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) मार्फत टिकटक, इन्स्टाग्राम र एक्स प्रयोग गरी आन्दोलनलाई सशक्त बनाए । तिनीहरूले राजनीतिज्ञका सन्तानहरूको विलासी जीवनशैली, गरिब–धनीबीचको असमानता र सरकारविरुद्धको योजनाबद्ध र्यालीहरू प्रचार गरे ।
कसलाई अन्तरिम नेता बनाउने भन्ने सुझावसम्म पनि उनीहरूले गेमिङ प्लेटफर्म डिस्कोर्ड मार्फत आदान–प्रदान गरे ।
“भ्रष्टाचार र अन्यायविरुद्धको आवाज डिजिटल मिडियामार्फत विश्वभर फैलिन्छ । नेपालमा भएको जेन जेड आन्दोलनले अरू देशका युवालाई पनि सशक्त बनायो”, नेपालका युवा प्रदर्शनकारी युजन राजभण्डारीले भन्छन्, “हामी केवल नेपाली होइनौँ, विश्व नागरिक हौँ भन्ने हामीले महसुस गर्यौँ । डिजिटल स्पेसले हामीलाई जोडेको छ र यसले विश्वभर नयाँ युगको शक्ति प्रदर्शन गरेको छ ।”