निर्धारित मितिमा निर्वाचन गर्न नदिन केही तत्व लागिपरेका छन्, सम्झाइबुझाइ गर्नुछः गृहमन्त्री अर्याल

भक्तपुर ।  गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार निष्पक्ष निर्वाचन गर्नका लागि बनेको बताएका छन्। बिहीबार जिल्ला प्रशासन कार्यालय भक्तपुरको निरीक्षण गर्दै उनले सरकारले फागुन २१ मा निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गर्ने बताए।

गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण बनाउन सरोकार भएकाहरूलाई संवादमा आउन आग्रह गरे। उनले भने, ‘निर्धारित मितिमै निर्वाचन गर्न दलहरूले संवादमार्फत साथ र सहयोग गर्न आवश्यक छ। त्यसका लागि सरकारले सहजीकरण गरिरहेको छ। सरकार निष्पक्ष निर्वाचन गर्नका लागि बनेको हो, निर्वाचनमार्फत जो कोही पनि आउन सक्छन्, तर त्यसका लागि सबैबीच समन्वय भएर अगाडि बढ्न जरुरी छ।’

निर्धारित मितिमा निर्वाचन गर्न नदिन केही तत्व लागिपरेको भन्दै गृहमन्त्री अर्यालले त्यस्ता तत्वलाई सम्झाइबुझाइ गर्नु आवश्यक रहेको बताए। उनले केही राजनीतिकर्मीले सुरक्षाकर्मीको मनोबल गिराउने काम गरको भन्दै मनोबल बढाउने काममा सरकारले काम गरिरहेको बताए।

शान्ति, सद्भाव र सिङ्गो देशको राजनीति भत्काउन अपदस्त भएकाहरू नै लागिपरेको टिप्पणी गर्दै गृहमन्त्री अर्यालले भने, ‘भक्तपुर शान्तपूर्ण जिल्ला हो, तर अपदस्त भएकाहरूकै कारण देशमा विद्रोह भएकाले तिनीहरूलाई यो ठाउँबाट नकराउन र देशको राजनीति धुल्मिल्याउने खालका गतिविधि नगर्न सन्देश दिन चाहन्छौँ।’

उनले आन्दोलनका क्रममा सवारीसाधन जलेको र हतियार लुटिएकाले सरकारले प्रहरीलाई आवश्यक स्रोतसाधनको व्यवस्था गर्न लागेको र जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न निर्देशन दिए।

गृहमन्त्री अर्यालले भदौ २४ गते आन्दोलनका कारण जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँट र मुद्दा फाँटमा आगलागी भएको क्षेत्रको अवलोकनसमेत गरे।

प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले आन्दोलनका क्रममा भएको क्षति र त्यसपछि उत्पन्न असहजता तथा शान्ति सुरक्षाबारे जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *