काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनता समाजवादी पार्टी नेपाल मधेस प्रदेशका सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले बिहीबार सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उपभोक्ता समितिको खाताहरूमा जम्मा/दाखिला भएको रकम आफ्नो स्वकीय सचिव विनोद कुमार लाल कायस्थमार्फत झिक्न लगाई उक्त रकम आफ्नो र श्रीमतीको नाममा रहेको संयुक्त खातामा जम्मा/दाखिला गरेर हिनामिना गरेको अभियोगमा सिंहसहित १६ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
अख्तियारले सिंहसहित रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपूत, भिखारी राउत कुर्मी, भूपेन्द्र कुमार झा, मञ्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी भन्ने स्वीकृति देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मंडल, योगिन्द्रर महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।