काठमाडौं । जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
बुधबार न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेशसँगै महरालाई केन्द्रीय कारागार सुनधारा लगिएको छ ।
महरामाथि चिनियाँ नागरिक लि हासोङसँग मिलेर इलेक्ट्रिक चुरोट (भेप)मा लुकाएर ल्याएको सुन तस्करीमा संलग्न रहेको आरोप छ ।
सोही आरोपमा महरा २६ असोजमा पक्राउ परेका थिए । चिनियाँ सुन तस्कर दाओजिन वाङसँगको सम्पर्कको कारण महरा सुन तस्करीमा संलग्न रहेको देखिएको प्रहरीको दाबी छ ।
महराले पनि आफू सञ्चारमन्त्री रहेका बेला उनीसँग चिनजान भएको बयानमा बताएको प्रहरीले जनाएको छ । उनीसँग चिनजान भएका कारण विमानस्थलमा सामानबारे चासो दिएको उल्लेख गर्दै त्यो सामान वैध वा अवैध भएकोबारे जानकारी नभएको महराले बताउँदै आएका छन् ।
उनीमाथि आठ करोड ५५ लाख रुपैयाँबराबरको सुन बेचबिखनमा संलग्न रहेको आरोप छ । प्रहरीका अनुसार, ०७९ पुस १० गते फ्लाई दुबईको विमानबाट नेपाल आएका चिनियाँ नागरिक ली हानसोङले अवैधरूपमा ल्याएको भेपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जफत गरिएको थियो । उनले दुईवटा सुटकेसभित्र ७३ बट्टामा ७३० थान भेप ल्याएका थिए ।