काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै संकलन गरिएका हस्ताक्षर नेतृत्वलाई बुझाइएको छ ।
विशेष महाधिवेशनका लागि संकलन गरिएका हस्ताक्षर बुधबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको हो ।
कांग्रेसका नेता गुरुराज घिमिरेले देशभरबाट संकलित २ हजार ४ सय ८८ हस्ताक्षर बुझाएका हुन् । घिमिरेले अहिलेको विषम परिस्थितिमा पार्टीलाई नयाँ गति र नयाँ दिशा दिन विशेष महाधिवेशन आह्वान गर्दै निवेदन दिइएको बताए ।
कांग्रेसको १४औँ महाधिवेशनमा देशभरबाट ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधि रहेका थिए । कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले कारण खुलाएर विशेष महाधिवेशन माग गरेमा तीन महिनाभित्र त्यस्तो विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।
हस्ताक्षरको फाइल बुझेपछि कार्यवाहक सभापति खड्काले कुनै प्रतिक्रिया नदिई ‘जय नेपाल’ भनेका छन् ।