धादिङ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग पनि एकता हुन सक्ने बताएका छन् ।
धादिङको बेनीघाट रोराङमा बुधबार आयोजित भेटघाट कार्यक्रममा प्रचण्डले नेतृत्व परिवर्तन भएको खण्डमा एमालेसँग एकता गर्न सकिने बताएका हुन् ।
उनले भने, ‘केपी ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता हुँदैन। तर, ओलीको नेतृत्व नरहेमा एकताको ढोका खुल्न सक्छ ।’
उनले आगामी चुनावलाई पार्टीको प्रमुख एजेन्डा बनाउँदै अघि बढ्ने पनि बताए । उनले भने, ‘अब माओवादीको लाइन भनेको चुनाव हो।’ उनले युवा पुस्ताले माओवादीको विचार र मार्गदर्शनलाई सही ठहर गर्न थालेको पनि जिकिर गरे ।