काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हमासबाट हत्या गरिएका नेपाली युवक विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै पनि नबिर्सने बताएकी छिन् ।
बुधबार समवेदना वक्तव्य जारी गरी प्रधानमन्त्री कार्कीले बन्धकमुक्त हुने दुई वर्षदेखिको आशा र सामूहिक प्रार्थनाबीच विपिनको मृत्युको खबर सुन्दा आफू स्तब्ध भएको बताएकी छिन् ।
उनले भनेकी छन्, ‘यो हृदयविदारक समाचारले हामी सबैलाई गहिरो पीडा दिएको छ । म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजन र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
साथै, उनले विपिन विद्यार्थी मात्रै नभइ ज्ञानको खोजीमा विदेशिएका हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि समेत भएको बताएकी छिन् ।
वक्तव्यमा भनिएको छ, ‘विपिन जोशी केवल एक विद्यार्थी मात्र हुनुहुन्नथ्यो; उहाँ ज्ञानको खोजीमा विदेशिनुभएका हजारौं नेपाली युवाको उज्ज्वल प्रतिनिधि हुनुहुन्थ्यो । उहाँको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको थियो ।’