गाजाको राफा नाका खोलिने, ६ सय सहायता सवारी प्रवेश गर्ने तयारी

जेरुसेलम ।  इजरायलले गाजाको राफा नाका बुधबारदेखि पुनः खोल्ने निर्णय गरेको छ, जसबाट इजिप्टहुँदै गाजामा मानवीय सहयोगका सामग्री पठाइनेछन् । इजरायली सार्वजनिक प्रसारण संस्थाका अनुसार संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, निजी क्षेत्र र दातृ राष्ट्रहरूले पठाउने करिब ६ सय सवारीसाधन गाजातर्फ पठाइने तयारी भइरहेको छ ।

गाजामा दुई वर्षदेखि जारी द्धन्द्धका कारण खाद्यान्न, औषधि र अन्य आधारभूत सेवाको गम्भीर अभाव भएको छ । संयुक्त राष्ट्रसंघ र विभिन्न सहयोगी संस्थाहरूले बारम्बार राफा नाका खोल्न आग्रह गर्दै आएका थिए ।

संयुक्त राष्ट्रसंघले गत साउन महिनामा गाजामा दुर्भिक्ष भएको घोषणा गरे पनि इजरायलले त्यो दाबी अस्वीकार गरेको थियो ।

राफा नाका खोल्ने निर्णय इजरायली राजनीतिक नेतृत्वको सहमतिमा गरिएको हो । यो निर्णय हमासले मंगलबार राति थप चार जना बन्धकको शव फिर्ता गरेपछि लिइएको हो । हालै सुरु भएको युद्धविराम सम्झौताअनुसार हमासले सबै बन्धकहरू जिउँदो वा मृत– ७२ घण्टाभित्र फिर्ता गर्नुपर्ने शर्त रहेको छ ।

हालसम्म हमासले २० जना जिउँदो बन्धकहरू फिर्ता गरिसकेको छ, तर २८ जना मृतकहरूमध्ये केवल ८ जनाको मात्र शव फिर्ता गरिएको छ ।

इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन गभिरले यदि बाँकी बन्धकहरूको शव फिर्ता नगरिएमा गाजामा सहायता बन्द गरिने चेतावनी दिए ।

इजरायली सञ्चारमाध्यमका अनुसार बुधबार थप चार जना बन्धकको शव फिर्ता हुने जानकारी पाएपछि राफा नाका खोल्ने निर्णय गरिएको हो । यद्यपि, हमासले यसबारे अहिलेसम्म आधिकारिक पुष्टि गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *