काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत आज हुने निर्णायक खेलमा नेपाल र घरेलु टोली ओमान आमने-सामने हुँदैछन् । अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार राति ८:४५ बजे शरू हुनेछ ।
आजको खेल दुवै टोलीको लागि निकै महत्त्वपूर्ण रहेको छ । आजको खेल जित्ने टोली एसिया क्षेत्रबाट विश्वकपमा प्रवेश गर्ने पहिलो टोली बन्नेछ भने छनोटको उपाधिपनि उसकै पोल्टामा जानेछ । सुपर सिक्समा ओमान र नेपाल तीन खेलबाट समान ६/६ अंक जोड्दै तालिकाको क्रमश: पहिलो र दोस्रो स्थानमा रहेका छन् ।
समूहचरणको खेलमा कुवेतलाई ५८ रन र जापानलाई ५ विकेटले हराउँदै नेपाल शीर्ष स्थानमा रहँदै सुपर सिक्समा पुगेको थियो भने ओमानले पनि समूह चरणमा सामोआलाई ५ विकेट र पपुवा न्युगिनीलाई ५२ रनले हराएको थियो ।
यस्तै सुपर सिक्समा युएईमाथि एक रन र कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको नेपाल आजको खेलमा ओमानलाई हराउँदै विश्वकपमा छनोट हुने लक्ष्यसहित मैदान उत्रिनेछ । यता ओमानको नयाँ स्वरूपको टोलीपनि छनोटमा अपराजित रहेको छ । ओमानले सुपर सिक्समा कतारलाई ३४ रन र युएईलाई ५ विकेटले हराएको थियो ।
ओमान र नेपालबीच भएको पछिल्लो पाँच भेटमा नेपालले तीन खेल जित्दा ओमानले दुई खेल जितेको छ । विश्वकप छनोट अगाडि दुई टोली बीच भएको अभ्यास खेलमापनि नेपालले ओमानलाई हराएको थियो ।
यसअघि दुई टोली सन् २०२३ मा कीर्तिपुरमा भएको आईसीसी पुरुष टी-२० विश्वकप एसिया छनोटको फाइनल खेलमापनि भिडेका थिए । रोमाञ्चक बनेको फाइनल खेलमा ओमानले नेपाललाई सुपर ओभरमा हराउँदै उपाधि जितेको थियो । पहिला ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १ सय ८४ रन बनाउँदा जवाफी ब्याटिङमा उत्रिएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो । एक समय खराब स्थितिमा रहको नेपाललाई कप्तान रोहित पौडेलले ३७ बलमा ५२ र गुलसन झाले २५ बलमा ५४ रन बनाउँदै नेपालको इनिंस उकासेका थिए । सुपर ओभरमा ओमानले २१ रन बनाउँदा नेपालले एक विकेटको क्षतिमा मात्र १० रन बनाएको थियो ।