एजेन्सी । भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेको खेलमा पोर्चुगल बराबरीमा रोकिएको छ । मंगलबार राति भएको फिफा विश्वकपको युरोपेली छनोट अन्तर्गत भएको खेलमा पोर्चुगल हंगेरीसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
इस्टाडियो जोसे अल्भालाडेमा भएको खेलमा पोर्चुगलको लागि रोनाल्डोले दुई गोल गर्दा हंगेरीको लागि अट्टिला स्जालाई र डोमिनिक स्जोबोस्ज्लाईले समान एक/एक गोल गरे । खेलको आठौँ मिनेटमा स्जालाईले गोल गर्दै हंगेरीलाई शुरूवाती अग्रता दिलाएका थिए । २२ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई १-१ गोलको बराबरीमा ल्याए ।
पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २-१ गोलको अग्रता दिलाए । दुई गोलसँगै रोनाल्डो विश्वकप छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । यस्तै दोस्रो हाफको इन्जुरी समयमा स्जोबोस्ज्लाईले गोल गर्दै हंगेरीको हार टारेका हुन् ।
बराबरीसँगै पोर्चुगल ४ खेलबाट १० अंक जोड्दै समूह ‘एफ’को शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ५ अंक जोडेको हंगेरी दोस्रो स्थानमा रहेको छ ।