चिनियाँ विश्वविद्यालयद्वारा कृषि क्षेत्रका लागि नयाँ ‘एआई मोडेल’ सार्वजनिक

बेइजिङ । चीन कृषि विश्वविद्यालयले सोमबार बेइजिङमा आयोजित २०२५ विश्व कृषि–खाद्य नवप्रवर्तन सम्मेलनमा ‘शेननोंग लार्ज मोडेल ३.०’ सार्वजनिक गरेको छ। यससँगै कृषि क्षेत्रमा कृत्रिम बौद्धिकता (एआई) को प्रयोग अझ व्यवहारिक र सर्वसुलभ बनाउने दिशामा चीनले महत्वपूर्ण कदम चालेको छ।

मुख्य अनुसन्धानकर्ता वाङ याओजुनका अनुसार, नयाँ संस्करणले अघिल्लो संस्करणको तुलनामा पाँच प्रतिशत बढी कार्यक्षमता देखाएको छ, साथै यसले गणनात्मक भार (कम्युटिङ) पनि निकै कम गरेको छ । उनले भने,“यसको संरचना पुनः डिजाइन गरिएको छ जसले हलुका तर उच्च प्रदर्शन दिने सन्तुलन कायम गरेको छ।”

यसअघि सार्वजनिक गरिएको ‘शेननोंग १.०’ ले कृषि ज्ञान र प्रश्न–उत्तर क्षमताको आधार बनाएको थियो भने ‘शेननोंग २.०’ मा दृश्य, आवाजजस्ता विभिन्न माध्यमबाट काम गर्ने क्षमता थपिएको थियो। अहिलेको ३.० संस्करण ती सबै आधारहरूलाई समेटेर अझ परिष्कृत बनाइएको हो।

‘शेननोंग’ नाम चीनको प्राचीन पौराणिक पात्रबाट लिइएको हो, जसलाई कृषि तथा औषधीय जडीबुटीको ज्ञान दिनेको रूपमा चिनिन्छ।

मोडेलसँगै अनुसन्धान टोलीले एउटा ‘एजेण्ट मञ्च’ पनि सार्वजनिक गरेको छ, जसले कृषि कार्यहरूलाई थप स्वचालित र सहकार्यमा आधारित बनाउनेछ। यसमा ६ वर्गमा विभाजन गरिएका ३६ विशेष कार्यहरू समेटिएको छ, जसले बीउ उत्पादन, खेतीपाती, सिँचाइलगायत सम्पूर्ण कृषि चक्रलाई समेट्छ ।

वाङका अनुसार, यी ‘एजेण्टहरू’ खेतका उपकरण र प्रविधिसँग समायोजन गर्न मिल्ने छन्, जसले कृषकलाई बिरुवा सुरक्षा, रोग नियन्त्रण तथा उत्पादन सम्बन्धी मार्गनिर्देशन जस्ता सेवा दिन सक्नेछन्। हाल यस प्रविधिको परीक्षण बेइजिङ वरपरका क्षेत्रमा, उत्तर चीनको भीत्री मंगोलिया स्वायत्त क्षेत्र तथा पूर्वोत्तर चीनको हइलोङज्याङ प्रान्तमा सुरु भइसकेको छ ।

‘शेननोंग ठूलो मोडेल ३.०’ को सार्वजनिकरणसँगै कृषि क्षेत्रमा उच्च कार्यक्षमता, प्रयोगमैत्री र प्रविधिमा आत्मनिर्भरता ल्याउने दिशामा नयाँ युगको सुरुआत भएको वाङले बताए।

सन् २०२३ मा प्रारम्भ गरिएको यस मोडेलमा एक करोडभन्दा बढी कृषि ज्ञानसम्बन्धी चित्र, पाँच करोड आधुनिक कृषि उत्पादन अभिलेख र २० हजार कृषि पुस्तकहरूको जानकारी समावेश गरिएको छ ।

विश्व कृषि–खाद्य नवप्रवर्तन सम्मेलन अक्टोबर १२ देखि १४ सम्म आयोजना हुँदैछ, जसमा स्वदेश तथा विदेशका करिब ७८० विज्ञहरूको सहभागिता रहेको छ । सम्मेलनले विश्व कृषि नवप्रवर्तनलाई प्रवद्र्धन गर्ने उद्देश्य बोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *