काठमाडौं । स्वास्थ्य बिमा बोर्डले प्रेषण सेवा (रिफरल सेन्टर) सम्बन्धमा सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई परिपत्र जारी गरेको छ । असोज २७ गते पठाइएको परिपत्रमा बोर्डले कुनै व्यक्ति प्रथम सेवा विन्दुको सेवा अपुग भई प्रेषण केन्द्रमा जाँदा विभिन्न प्रक्रियागत अफ्ठेरो व्यहोर्नु परेको भन्ने लिखित तथा मौखिक गुनासाहरू बोर्डमा प्राप्त भएकाले बिमितको स्वास्थ्य उपचारलाई मध्यनजर गरी बोर्डले उक्त परिपत्र जारी गरेको हो ।
बोर्डको कार्यकारी निर्देशकस्तर निर्णयबमोजिम असोज २७ गते स्वास्थ्य संस्थाहरूलाई प्रेषण सेवासम्बन्धी निर्णयको जानकारी गराइएको परिपत्रमा उल्लेख छ । जसअन्तर्गत कडा रोग (क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिजम, अल्जाइमर)को हकमा प्रथम सेवा विन्दुबाट एक पटक प्रेषण भई सोही समस्याका लागि सोही अस्पतालमा पुनः परीक्षणका लागि जाँदा पुनः रिफर आवश्यक नपर्ने उल्लेख छ ।
त्यस्तै, अन्य निर्णयहरूमा प्रचलित कानुनबमोजिम अतिगरिबको परिचयपत्र प्राप्त परिवार, अतिअशक्त, अपांगता, कुष्ठरोगी, एचआइभी सङ्क्रमित, जटिल खालका क्षयरोगका बिरामी, ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्वयंसेविकाको हकमा, आँखा स्वास्थ्यसम्बन्धी जटिल समस्या भएका, गर्भवती तथा सुत्केरी, अन्य जटिल रोग जस्तै दम, कडा किसिमको मानसिक रोगीको हकमा, एउटा रोगका लागि गरिएको प्रेषण सेवा सोही रोगको पुनः चेकजाँच गराउन पर्दा, आकस्मिक सेवा लिए पश्चात् सोही रोगका लागि पुनःपरीक्षण गर्दा पुनः रिफर आवश्यक नपर्ने उल्लेख छ ।
प्रथम सेवा विन्दुबाट कुनै एक रोगका लागि प्रेषित भई उपचार गरिरहेको अवस्थामा अर्को रोगको समेत उपचार तथा परीक्षण तत्काल आवश्यक भएमा सोही अस्पतालको अर्को विभागमा प्रेषण (इन्टर डिपार्टमेन्टल रिफर) गरी सेवा उपलब्ध गराउनुपर्ने बोर्डको निर्णय छ ।
यसैगरी, इन्टर डिपार्टमेन्टल रिफर भई अन्य विभागबाट सेवा लिई सोही विभागमा पुनःपरीक्षण गर्नुपर्ने अवस्था रहेमा पुनः रिफर आवश्यक पर्ने, प्रेषण केन्द्रबाट समेत सेवा अपुग भएको अवस्थामा सेवाको सुनिश्चितता गरी नजिकैको अर्को अस्पतालमा प्रेषण गर्नुपर्ने, शारीरिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा फरक क्षमता भएका व्यक्तिलाई सहज सेवाको सुनिश्चितता हुने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ ।
अस्पतालले चिकित्सकद्वारा उपलब्ध सिफारिसपत्रमा पुनः परीक्षणका लागि आउनुपर्ने सम्भावित मिति, दिन अथवा महिना अनिवार्य उल्लेख गर्नुपर्नेछ र प्रथम पटक प्रेषित भई आएका बिरामीको दाबी प्रत्येक पटक उपचार गर्दा अनिवार्य उल्लेख गर्नुपर्ने बोर्डको परिपत्रमा उल्लेख छ ।