विश्व कराते च्याम्पियनसिपमा जाने खेलाडीको बिदाइ

काठमाडौँ । विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । यही अक्टोबर १७ देखि १९ तारिखसम्म फ्रान्सको पेरिसमा हुने छनोट प्रतियोगिताका लागि चार खेलाडीसहित छ सदस्यीय नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ ।

प्रतियोगितामा एक पुरुष र तीन महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । स्वनिम मानन्धरले पुरुष एकल कातामा आफ्नो कौशल प्रस्तुत गर्नेछन् । महिला ६८ किलोमाथि एरिका गुरुङ, ५० किलोमुनि वर्षा बुढा र ५५ किलोजीमुनि सविना श्रेष्ठले चुनौती पेस गर्नेछन् ।

स्वनिमको स्पर्धामा ४९, एरिकाकोमा ३४, वर्षाकोमा ३८ र सविनाकोमा ४६ प्रतिद्वन्द्वी छन् । यो छनोटको हरेक स्पर्धामा शीर्ष छ स्थानमा रहने खेलाडी इजिप्टको काइरोमा आगामी नोभेम्बर २७ देखि ३० तारिखसम्म हुने विश्व कराते च्याम्पियनसिपको २७ औँ संस्करणका लागि छनोट हुनेछन् ।

छनोट अघि हरेक स्पर्धाबाट २४ खेलाडी विश्व च्याम्पियनसिपका लागि छनोट भइसकेका छन् । एक स्पर्धामा ३२ खेलाडी सहभागी हुन पाउने छन् । बाँकी दुई खेलाडी विश्वविद्यालय कोटाबाट छानिने छन् ।

विभिन्न १२ स्पर्धा समावेश छनोटमा पाँच सय ४९ खेलाडी सहभागी हुनेछन् । नेपालबाट सानुमाया थिङले भने इजिप्टको यात्रा पक्का गरिसकेकी छिन् । सानुमायाले महिला एकल कातामा खेल्ने छिन् ।

टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ रहेका छन् । पेरिसमा अक्टोबर १६ तारिखमा हुने प्रशिक्षक परीक्षामा सहभागी हुन अमिर राना पनि टोलीसँगै जानेछन् । उनले टोली व्यवस्थापकको भूमिका निर्वाह गर्ने बताइएको छ । टोलीका लागि सुशान्त अधिकारीले ट्र्याकसुट प्रायोजन गरेका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङ, राखेपका सदस्य प्रकाशकुमार कुसारी, राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्ट र उपनिर्देशक दीपक श्रेष्ठले मंगलबार आयोजित एक कार्यक्रममा बिदाइ गरे । सो अवसरमा सदस्य–सचिव घिसिङले इतिहास रच्ने सुनौलो अवसर भएकाले खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शन गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *