मतदाता नामावलीमा नाम दर्ता गराउन युवामा उत्साह

मोरङ । आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनका लागि युवा पुस्ता मतदाता नामावलीमा नाम दर्ता गर्न उत्साहित देखिएका छन् ।

गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनबाट प्रेरित भएका नयाँ मतदाताहरू आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएका हुन् । सरकारले अध्यादेशमार्फत मतदाता नामावलीमा नाम दर्ता गराउन समय थप गरेपछि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा युवाको उपस्थिति उल्लेख्य देखिएको छ ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकिएको छ । निर्वाचन आयोगले प्रारम्भिक निर्वाचन तालिकासमेत सार्वजनिक गरिसकेको छ ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरमा भेटिएका अधिकांश युवाले पुराना राजनीतिक दल र नेताहरूको कार्यशैलीप्रति वितृष्णा जागेको र अब नयाँ तथा सक्षम व्यक्तिलाई मतदान गर्न नाम दर्ता गराउन आएको बताएका छन् । विराटनगर–१ का आयुष आचार्य युवाले खोजेको योग्य उम्मेदवारलाई मतदान गर्न मतदाता परिचयपत्र बनाउन आएको बताए ।

युवाको मतले चुनिएको व्यक्तिले गर्व गर्ने लायक काम गर्न सकून् भन्ने अपेक्षा रहेको विराटनगर–११ की जोत्सीना सापकोटाको भनाइ छ । सोमबारसम्म प्रदेश निर्वाचन कार्यालय विराटनगरमा एक हजार ५३० नयाँ मतदाताले नाम दर्ता गराएका छन् ।

गत असोज १० गतेदेखि कार्यालय खुलेका दिन दैनिक बिहान ८ देखि साँझ ५ सम्म नाम दर्ता गराउन आउनेको भीड लाग्ने गरेको छ । जसमा अधिकांश २५ वर्षभन्दा कम उमेर समूहका रहेको प्रदेश निर्वाचन कार्यालय, विराटनगरका प्रदेश निर्वाचन अधिकारी युवराज गुरागाईंले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *