काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले १५औं महाधिवेशनबाट बिदा लिने बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले वैधानिक व्यवस्थाअनुसार १५औं महाधिवेशनबाट नेतृत्व छाड्ने बताएका हुन् ।
उनले भने, ‘म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने ‘घरमा सधैं एकै जना मुली रहँदैन’ पार्टीमा पनि हमेसा एकै जना सभापति रहिरहँदैन। जहासम्म मेरो विषय छ, मैले पहिले नै वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औं महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रुपमा हस्तान्तरण गर्छु भनिसकेको छु। आगामी १५औं महाधिवेशनबाट म बाहेक अरु कुनै साथी सभापति बन्नु हुनेछ त्यसमा द्विविधा छैन ।’
उनले धेरैले आफूलाई पटकपटक प्रधानमन्त्री भएको आरोप लगाए पनि समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री नभएको बताए । उनले भने, ’पाँच पटक प्रधानमन्त्री भएँ तर समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री चलाएको छैन ।’ उनले १५ औं महाधिवेशन तोकेको अवधिमै हुने पनि बताए ।
उनले आफूहरुमाथि भदौ २४ गते घृणितरुपमा दुव्र्यवहार भएको बताए । उनले निकै लामो समयपछि सुरक्षाकर्मीले आफूहरुलाई उद्धार गरेको उल्लेख गर्दै त्यसपछि पनि प्रतिष्ठामा आँच पुर्याउने दुव्र्यवहार गरिएको बताए ।
उनले भने, ‘हामीमाथि घृणितरुपमा दुव्र्यवहार भयो, । घण्टौँपछि सुरक्षाकर्मीबाट उद्धार गरियो । त्यसपछि पनि हाम्रो सामाजिक प्रतिष्ठामा आँच पुर्याउन दुष्प्रचार गरियो । भ्रष्टाचारविरुद्ध भनेर नारा दिएको छ । किसुनजीको आश्रम, गणेशमानको निवास र कृष्णप्रसाद कोइरालाको निवास जलाइएको छ । कांग्रेसका नेताको घर जलाइएको छ । आतंकित हुने होइन एक हुने बेला हो ।’