काठमाडौं । नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनले नर्सहरुलाई सरकारले तोके बमोजिमको पारिश्रमिक दिन नसक्ने बताएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउदै एसोसिएसनले सरकारी सरह पारिश्रमिक र सेवा सुविधा दिन नसक्ने बताएको हो ।
एसोसिएसनका अध्यक्ष डा ज्ञानेन्द्र कार्कीले मन्त्रालयलाई पठाएको पत्रमा निजी मेडिकल कलेज तथा डेन्टल कलेजहरुको आर्थिक संरचना लगानी मोडेल र सेवा सञ्चालन प्रणाली सरकारी संस्थानभन्दा पूर्ण रुपमा फरक भएकाले समान पारिश्रमिक दिन नसकिने उल्लेख गरिएको छ ।
मन्त्रालयले २०८१ मंसिर २७ गते सचिवस्तरीय निर्णय गर्दै स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीका लागि न्यूनतम पारिश्रमिक (३४,७३० रुपैयाँ) र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी लागू गर्न निर्देशन दिएको थियो ।
मन्त्रालयको निर्देशन पछि सेवा सुविधा नपाएको भन्दै पोखराको मणिपाल मेडिकल कलेजका नर्सहरु आन्दोलनमा छन् । नर्सहरुको आन्दोलन पछि मन्त्रालयले पुनः पत्र पठाउदै सरकारी बमोजिम पारिश्रमिक दिन निर्देशन दिएको थियो ।