काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स अन्तर्गत भएको खेलमा नेपाल विजयी भएको छ । सोमबार राति भएको खेलमा कतारलाई पाँच रनले हराउँदै नेपालले विश्वकपमा छनोट हुने सम्भावनालाई बलियो बनाएको हो ।
जितको लागि १४८ रनको विजयी लक्ष्य पछ्याएको कतारले १९.५ ओभरमा अल आउट हुँदै १४२ रन मात्र बनाउन सक्यो ।
यसअघि अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४७ रन बनाएको थियो । नेपालको लागि कप्तान रोहित पौडेलले अर्धसतक बनाए। उनले ४१ बलमा ७ चौका र एक छक्काको मद्दतमा ५८ रन बनाए । यस्तै दीपेन्द्र सिंह एरीले २६,गुलशन झाले १६, सोमपाल कामीले १४ र आसिफ शेखले ११ रन बनाए ।
कतारको लागि मिर्जा मोहम्मद बैग र डानियल आर्चरले समान तीन/तीन विकेट लिँदा मुहम्मद असिम र अवाइस अहमदले एक एक विकेट लिए ।
जितसँगै नेपाल सुपर सिक्समा तीनखेलबाट ६ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट अङ्कविहिन कतार छैटौं स्थानमा रहेको छ ।