काठमाडौँ । प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा सोमबार परिषद्को बैठक बसेको छ ।
सिंहदरबारस्थित सचिवालयमा बसेको परिषद्को ४० औँ बैठकमा हालको वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षाका समसामयिक विषयमा समीक्षा गरिएको रक्षा मन्त्रालयका सचिव एवं परिषद्का सदस्य–सचिव सुमनराज अर्यालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
प्रधानमन्त्री कार्कीले बैठकमा राष्ट्रिय सुरक्षासँग सम्बन्धित सबै निकायहरूबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताएकी थिइन् ।
उनले जनताको सुरक्षालाई सरकारले पहिलो प्राथमिकता राखेर काम गरिरहेको पनि बताएकी छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सयौं थान हतियार लुटिएका छन् भने हजारौं कैदी कारागारबाट फरार भएका छन् ।
त्यस विषयमा पनि बैठकमा छलफल भएको थियो । बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल सहभागी थिए ।