पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता, आठ करोड भन्दाबढी बिगो माग

काठमाडौं । भेपमार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ ।

सोमबार जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।

महराविरुद्ध भन्सार छली र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरिएको हो । उनीविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । उनीविरुद्ध मंगलबारदेखि थुनछेक बहस हुनेछ । बहसपछि धरौटीमा रिहा गर्ने कि थुनामा राख्ने भन्ने आदेश हुनेछ ।

यसअघि २०८० चैत ५ गते पनि महरा पक्राउ परेका थिए । तर त्यतिबेला मुद्दा नचल्ने भन्दै सरकारी वकिलको कार्यालयले उनलाई छाडेको थियो ।

०७९ पुस १० गते फ्लाई दुबईको जहाजमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० वटा विद्युतीय चुरोट (भेप) मा लुकाएर अवैध रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपालमा सुन भित्राएको प्रकरणमा महरा जोडिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *