काठमाडौं । नेकपा माओवादी केन्द्र निकट जेनजीहरुले ‘जेन जेड रेड टास्क फोर्स’ गठन गरेका छन् । अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य स्मृति तिमल्सिनाको नेतृत्वमा टास्क फोर्स गठन गरिएको हो ।
गठन भएको चार दिनमै यो ४० जिल्लामा विस्तार भइसकेको र अन्य जिल्लामा पनि विस्तार गरिने तिमल्सिनाले जानकारी दिइन् । उनले चाकरी गर्नेहरूलाई मात्रै अवसर दिएर पार्टी नै कब्जा गर्न खोज्नेहरूबाट जोगाउन आफूहरूले टास्क फोर्स गठन गरेको बताइन् । उनले चरम गुटबन्दीले पार्टी कमजोर हुँदै गएपछि पार्टीलाई पहिलाको जस्तै अवस्थामा फर्काउन आफूहरु अघि सरेको बताइन् ।
उनले टास्क फोर्सले शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, विज्ञहरू मन्त्री, मन्त्रीमण्डल बढीमा १७ सदस्यीय हुने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सांसद संख्या १०३ मात्रै हुने, प्रदेशमा पनि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, विज्ञहरू मन्त्री, मन्त्रीमण्डल बढीमा ७, सबै प्रदेशका गरि सांसद संख्या १५१ जना हुने एजेण्डा अघि बढाउने बताइन् ।
त्यस्तै, संविधानमा उल्लेखित प्रदेशका अधिकार तुरुन्तै हस्तान्तरण, न्यायाधीश र संवैधानिक अंगहरूको नियुक्तिमा राजनीतिक हस्तक्षेप मुक्त, अख्तियार दुरूपयोग अनुसन्धान आयोग राजनीतिक हस्तक्षेपबाट मुक्त, विश्वविद्यालय, स्वास्थ्य संस्थालगायत सामाजिक संस्थाहरू पूर्णतः राजनीतिक हस्तक्षेप मुक्त, निजामती कर्मचारीहरूको, शिक्षका राजनीतिक संगठन खारेज, पेशागत ढंगले साझा एउटै संगठन बनाउन दिने उल्लेख गरिन् ।
त्यस्तै सम्पूर्ण उच्चपदस्थ कर्मचारी, नेता तथा लाभको पद लिएकाहरूको सम्पत्ति छानबिन र कारबाही गर्न छुट्टै शक्तिशाली आयोग बनाउने, सबै नागरिकलाई करको दायरामा ल्याउने, भ्रष्टाचारीलाई दण्ड र त्रिबल जरिवाना, भ्रष्टाचारको आरोप लागेर अनुसन्धानमा तानिएकालाई राजनीतिमा पूर्णतः बन्देज, गैरकानुनी नाफा आर्जन गरेका, तस्करी धन्दा चलाउने, विचौलिया र दलालहरूको सम्पत्ति छानबिन गरि कारबाही र सम्पत्ति राष्ट्रियकरण गर्ने एजेण्डा रहेको उनको भनाई छ ।
तिमिल्सिनाले पार्टीभित्र अझै ५ वर्ष अध्यक्ष प्रचण्डको विकल्प नभएको बताइन् । उनले अबको पाँच वर्ष प्रचण्डलाई नै नेतृत्व दिनुपर्ने सुझाव देशैभरिबाट आएकाले नेतृत्वको विकल्प नखोज्ने बताइन् ।