काठमाडौं । दुई वर्षअघि हमासले इजरायलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशी ‘जीवित रहेको प्रमाण फेला नपरेको’ औपचारिक जानकारी इजरायली सेनाले गराएको छ । इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले जोशी जीवित रहेको प्रमाण नरहेको इजरायली सेनाले दिएको जानकारी दिएका हुन् ।
हमासले बन्धकमध्ये ४८ जना अझै गाजामा रहेका र तीमध्ये केवल २० जना जीवित भएको बताइएको छ । इजरायल र हमासबीच युद्धविराम भएपछि आजदेखि बन्धकहरू मुक्त गर्ने तयार गरिएको छ । तर विपिन जोशी जीवित वा मृत दुवै वर्गका बन्धकको सूचीमा नभएको राजदूत पण्डितले बताए ।
उनले भने, ‘केही थप आयो र चमत्कारिक रूपमा केही भयो भने मात्रै अन्य कुरा। नभए विपिन जीवित नभएको आधिकारिक जानकारी उनीहरूले आज दिएका हुन् ।’
हमासले उपलब्ध गराएको सूची इजरेल डिफेन्स फोर्सेस आईडीएफले हेरेपछि त्यसमा विपिन जोशीबारे केही पनि जानकारी नपाएको भनी कलमार्फत् जानकारी दिएको पण्डितले बताए ।
आईडीएफले नेपालबाट विपिनका ठूलोबुवाका छोरा किशोर जोशीलाई, हाल अमेरिकामा रहेकी विपिनकी बहिनी पुष्पालाई र इजरायलमा राजदूत पण्डितलाई ग्रुप कलमा सहभागी गराएर इजरायली सरकारका प्रतिनिधिले पछिल्लो जानकारी गराएका हुन् ।
स्थानीय समयअनुसार बिहान साढे ७ बजेतिर उक्त जानकारी गराइएको हो । सन् २०२३ मा हमासको नेतृत्वमा इजरायलमा भएको अप्रत्याशित आक्रमणपछि जोशीसहित २५१ जनाजतिलाई लडाकुहरूले बन्धक बनाएर लगेका थिए। इजरायलमा भएको आक्रमणमा १० नेपालीसहित १ हजार २०० सय जनाको ज्यान गएको थियो।