काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा जेनजीका नाममा एक समूहले ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजनाको १० प्रतिशत सेयर लिएको छ ।
आयोजनाका प्रमुख कार्यकारी अधिकृत विक्रम स्थापितका अनुसार उनीहरूलाई प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा १९ करोड रूपैयाँ बराबरको १० प्रतिशत सेयर दिने सम्झौता भएको हो ।
जेनजी आन्दोलनपछि भोटेकोशी गाउँपालिकाको एक समूहले जेनजी समूहका नाममा १० प्रतिशत निःशुल्क सेयर मागेर भदौ २५ गतेदेखि आयोजना सञ्चालन गर्न दिएको थिएन ।
आयोजना लामो समयदेखि बन्द हुँदा मर्का परेका कारण त्यहाँका स्थानीयलाई दिने सम्झौता भएको ६ प्रतिशत सेयरमा ४ प्रतिशत थप गरी १० प्रतिशत सेयर स्थानीय जेनजी समूहलाई दिने सम्झौता गरिएको हो । आइतबार भोटेकोशी पावर कम्पनी र जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडबीच १० प्रतिशत शेयर लेनदेनमा सम्झौता भएसँगै आयोजना सञ्चालनमा आएको छ ।
सम्झौता पत्रमा जेनजी पब्लिक इन्भेष्टमेन्ट पब्लिक लिमिटेडका अध्यक्ष फुर्पा शेर्पा र भोटेकोशी कम्पनीका तर्फबाट सचिव विश्वमोहन कर्माचार्य लगायतले हस्ताक्षर गरेका छन् ।
यसअघि नै राजनीतिक दलका प्रतिनिधिसमेतको रोहबरमा आयोजनाले स्थानीयलाई ६ प्रतिशत शेयर दिने सम्झौता भएको थियो । तर भदौ २३–२४ गतेको जेनजी आन्दोलनको क्रममा ‘भोटेकोशी जेनजी ग्रुप’को नाममा स्थानीयको एक समूहले आयोजना बन्द गराउँदै १० प्रतिशत शेयर निःशुल्क मागेको थियो ।