काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुससहित पक्राउ गरेको छ । आयोगको टोलीले दाहाललाई आइतबार साँझ एक लाख २० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं ९, बोडेका ५० वर्षीय दाहाललाई १ लाख २० हजार ८५० रूपैयाँ घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
दाहालको साथबाट एउटा मोबाइल र सम्बन्धित कागजातहरू पनि बरामद गरिएको छ। उनले विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुसवापतको रकम लिई कार्यकक्षमा लुकाउन खोजिरहेका बेला अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।