मोरङ । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अन्तरिम सरकारले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनलाई सफल बनाउन सुरक्षाको वातावरण बनाउनुपर्ने बताएका छन् ।
पार्टीको १ नं प्रदेश समितिको आजदेखि यहाँ सुरु भएको दुईदिने एकताको प्रथम अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष यादवले दलहरुको सहभागिता बिना निर्वाचन सफल हुन नसक्ने भएकाले सरकारले अविलम्ब दलहरुसँग बैठक एवं वार्ता गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष यादवले संविधानको पुनःलेखन गरी शासकीय स्वरुपमा संशोधन गरी जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएमा मात्र मुलुकमा राजनीतिक स्थायित्व एवं विकास सम्भव हुने बताए । उनले विगतको दुई तिहाइ सरकारको कुशासनका कारण मुलुक गरिबीतर्फ गएकाले जेनजीको आन्दोलनले सरकार दुई दिनमा ढलेको स्मरण गराए ।