देशमा शान्तिका लागि पनि राजा चाहिने रहेछ भन्ने समय चक्रले देखाएको छ

-सुरेश आचार्य ।

१२ बुँदे यात्राका क्रममा नेपाली कांग्रेस र एमाले दुर्घटनामा परेका छन् । १८ वर्ष १० महिनासम्म राजासँग बोलचाल नै बन्द गरेर बसे पनि अब सच्चिन आवश्यक छ । पूर्वराजा ज्ञानेन्द्रले त भूलचुकका लागि जनतासँग क्षमायाचना गरेका छन्, राज्यले बस् भनेको थान्कोमा बसेका छन्, जनताको अवस्था बुझ्दै यायाबर जस्तो जनताका घरदैलोमा पुगेका छन्, आफू राज्य संचालनबाट हटाइए पनि देश र राष्ट्रियता जोगाउनु पर्ने सचेतना जगाएका छन् । ‘जे गरे पनि गर , तर मातृभूमि छोडेर विदेश त जॉदै जान्न’ भन्ने राजा ज्ञानेन्द्रकै आवश्यकता अहिले यो मुलुकलाई परेको छ ।

उनले नेपाली कांग्रेस, एमालेहरूको घनघोर दबाबमा पहिले नै नेपाल छोडेको भए, शायद हामी नेपालीहरूसँग आज देशलाई संकटबाट मुक्त गराउने विश्वसनीय विकल्प पनि हुने थिएन ।
भाद्र २३ को जेनजी विद्रोहको भोलिपल्ट भाद्र २४ गते देशका दलीय नेताको भागाभाग र मुलुक सरकारविहीनताको अवस्थामा पुग्दा आफ्ना पूर्वपरमाधिपति ज्ञानेन्द्रलाई सेनाले राजगद्दीमा बस्ने बसाउने मिलाउँदा उनले ‘आफूलाई शत्रुको भन्दा पनि खराब व्यवहार र अपमानित गर्ने नेपाली कांग्रेस र एमाले लगायतका दलको सहमति बेगर आफू गद्दीमा नबस्ने’ निर्णय सुनाएको थाहा पाएपछि जनताको आक्रोशबाट कुटाई खाएका शेरबहादुर/आरजु देउवा र हेलिकप्टर चढेर ज्यान बचाउन भागेका केपी ओलीहरू अहिले राजाको एकै वाक्यांशबाट लज्जाबोध र हिनतीबोधले पानी–पानी भएका छन् ।

भाद्र २४ को पूर्वराजा ज्ञानेन्द्रको परिपक्व र विवेकशील निर्णयले के पनि परोक्ष रूपमा पुष्टि गरेको छ भने ‘राजा विरूद्ध षड्यन्त्रपूर्ण तरिकाले १८ वर्षअघि जसरी नेपाली कांग्रेस र एमाले खनिएका थिए, वास्तवमा राजाको भन्दा बढी गल्ती यिनीहरूकै रहेछ भन्ने पनि अब जनताले ढिलै होस् बुझ्ने अवसर पाएका छन् ।’

त्यसबेला न राजाले संसद विघटन गराएका थिए, न स्थानीय निकाय खाली पारेका थिए, न त राजाले शेरबहादुर देउवालाई नै स्वेच्छाचारी तरिकाले पदमुक्त गरेका थिए । ज्ञातव्य रहोस्, स्थानीय निकायको खारेजी तात्कालिन देउवा मन्त्रिपरिषदले गरेको थियो भने संसद विघटनको सिफारिस पनि देउवाकै मन्त्रिपरिषदले गरेको थियो ।

जहॉसम्म विघटित संसदको कार्यकाल समाप्त भएपछि पनि प्रधानमंत्री देउवाले संविधान विपरित आमचूनाव पनि नगराउने र पद छोडेर मार्ग प्रशस्त पनि नगरेपछि गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल समेतका सात दलले नयॉ चुनावी सरकार गठन गर्न माग गरी राजासमक्ष विन्तिपत्र (जुन विन्तिपत्र कान्तिपुर दैनिकको ३ नम्बर पृष्ठको पूरै पेजमा नेताहरूको हस्ताक्षरसहित प्रकाशित भएको) जाहेर गरेपछि संसद नरहेको हुँदा राजाले तत्कालिन संविधानको धारा १२७ अनुसार बाधा अडकाउ फुकाउँदै आफूमा अन्तरनिहीत राजकीय अधिकार प्रयोग गरी देउवालाई पदमुक्त गरिएको थियो । पदमुक्त गर्दाको एउटा साक्षी म नै हूँ ।

त्यसबेला सातदल मध्येबाट नयॉ प्रधानमन्त्रीको नाम सिफारिस गर्न सातदलले नसकेपछि राजा स्वयम्बाट २०६० माघ १९ गते चुनावी मन्त्रिमण्डलको अध्यक्षता ग्रहण गरिएको थियो । त्यसपछिको नेपाली राजनीति बाह्य चलखेलसहित राजाविरूद्ध कसरी परिचालित भयो जगजाहेर नै छ । मैले यहॉ बिगतको इतिहासलाई कोट्याउनुको तात्पर्य राजालाई षड्यन्त्र गरेर परिबन्धमा पार्ने काम गरिए पनि राजा ज्ञानेन्द्रले देशलाई रक्तपातमा होमेर निहत्था जनता मार्नुभन्दा बरू राजगद्दी नै त्याग्ने ऐतिहासिक निर्णय गरेका हुन् ।

राजालाई घात गर्न जसले राजाका लागि खाल्डो खनेका थिए, १८ वर्ष ९ महिनापछि अहिले तिनीहरू आफैं त्यही खाल्डोमा परेका छन् । इतिहासको लेखा निर्मम हुन्छ । अब तिनीहरूलाई खाल्डोबाट कसैले बाहिर निकाल्न सक्छ भने त्यो ‘मसिहा’– राजा ज्ञानेन्द्र मात्रै हुन् । यस कारण नेपाली कांग्रेस र एमालेले राजा ज्ञानेन्द्र विरूद्ध गरेका कुकृ्त्यको प्रायस्चित गर्ने दिन अब धेरै नजिक आयो ।

यदि, यो सुझबुझ अझै पनि नेपाली कांग्रेस र एमालेका नेताहरूमा पलाएन भने राजा ज्ञानेन्द्रले राजगद्दीमा बस्न त नपाउलान् नै, तर तद्उप्रान्त देशमा चलिरहेको बाह्य हस्तक्षेप, भूराजनीतिक चक्रव्यूह र नेपालीहरू बीचमै जबरजस्त रूपमा बाह्य तत्वबाट ल्याइएको फाटोका कारण ‘नेपाल’ देशकै अस्तित्व खतरामा पर्ने निश्चित छ ।

जसले जे भने पनि, दलहरूले छिमेकी देशहरूको राष्ट्रिय सुरक्षामा नै नेपालतिरबाट जानेर वा नजानेर खतरा उत्पन्न गराइदिएका छन् भन्नेमा भारत र चीनका जानिफकारहरूलाई कुनै शंका छैन । समग्रमा जेनजीले भनेझैं भ्रष्टाचार र कुशासनले नेपालको सत्ता मात्रै गन्हाएको हो, तर बिगत १८ वर्षमा दलका नेताहरूले भूराजनीति र असंलग्न परराष्ट्रनीतिका बारे नेपालले पृथ्वीनारायण शाहको समयकालदेखि स्थापित गरेका मानकहरूबाट बिमूख हुँदा नै, राजा र हाम्रा पूर्खाले आर्जेको यो देश विश्वमान चित्रबाटै लोप हुने स्थितिमा पुगेको हो ।

यसकारण, अब देश जोगाउने काममा नेपाली कांग्रेस र एमाले लगायतका दलहरूका नेता÷कार्यकर्ताले राजासँग मेलमिलापको हात अघि बढाउन जरूरी छ । गणतन्त्र नरहेर, राजसंस्थालाई नै राखिरहेको भए, शायद देउवाले कुटाई खानु पर्ने थिएन भने प्रधानमन्त्री ओलीले हेलिकप्टरमा चढेर ज्यान जोगाउन भाग्नु पर्ने अवस्था नै आउने थिएन होला । राजसंस्था र गणतन्त्र दुवै बेहोरेका देउवा र ओली जतिको राजसंस्था र गणतन्त्र तुलना गर्ने ल्याकतको व्यक्ति नेपालमा अर्को कोही नहोला ।

मैले नजिकबाट चिनेको छु– पूर्वराजा ज्ञानेन्द्र र उनको मानसपटललाई ! यदि फेरि पनि नेपाली कांग्रेस र एमालेले मौका चुकाए भने ज्ञानेन्द्रबाट अफगानिस्तानका राजा जहिर शाहले जस्तै ‘राजसंस्था’ पुनस्र्थापना गर्न ‘इन्कार’ गर्न पनि सकिबक्सिने छ ! मैले ३ वर्षअघि यही कुरा राजावादी दलहरूको प्रसंगमा लेखेको थिएँ– राजा पुनस्र्थापनाको एजेण्डा बोकेका दलहरू ‘राजा आउ, देश बचाउ’ भन्नुहुन्छ, तर राजाका आफ्नै सीमा(limitation) हरू हुन्छन्, अनि राजाले मेरो चाहना कुनै दलको एजेण्डा बोकेर हिँड्ने छैन भनिदिए, यी दलहरू एजेण्डाविहीन बन्ने पो हुन् कि ?

मैले ६ वर्षअघि पनि एउटा टेलिभिजन अन्तरवार्तामा भनेको थिएँ– कुनै दिन नेपालमा यस्तो समय पनि आउन सक्छ, प्रमुख दलहरूले नै देश संकटमा परÞ्यो भनी राजालाई गद्दीमा ल्याउनु पर्ने परिस्थिति पनि आइपर्न सक्छ । मैले ६ वर्षअघि भनेको यो घडी घुम्दैफिर्दै वर्तमान समयमा संघारमै आइपुगेको मेरो आँकलन छ ।

राजा जहिर शाहलाई राजगद्दीबाट हटाएपछि अफगानिस्तानको बिगत ५३ वर्षको आत्मघाति उथलपुथलकारी इतिहास सबैले सुनेको, देखेको र भोगेकै कुरो हो । नेपाली कांग्रेस र एमालेको राजनीतिक अस्तित्व रक्षाकै लागि पनि विवेकपूर्ण कदम चाल्ने अब समय आयो । देशभन्दा ठूलो दल हुन सक्तैन । देशलाई सुरक्षित, भेदभावरहित र शान्तिका लागि पनि राजा चाहिने रहेछ भन्ने समय चक्रले देखाएको छ ।
तर समयले कसैलाई पर्खिदैन । राष्ट्रिय आवश्यकतालाई दृष्टिगत गरी हालै जेनजीसँग संवादको ‘सहजीकरण’ (facilitation) गरेर तत्काल संकट समाधानमा सफल परिणाम निकाल्ने नेपाली सेनाले पूर्वराजा, नेपाली कांग्रेस र नेकपा एमाले मात्र नभई राष्ट्रपति र अन्तरिम प्रधानमन्त्रीसँग पनि किन बहुपक्षीय ‘मध्यस्थता’ (mediation) गर्दैन ? देशलाई डुबाउनु र विघटनतिर धेकल्नु कसैको हितमा छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *