-डा. जीवन क्षेत्री
केपी ओलीजीको गुण्डु भाषण पढियो । यो देशमा पछिल्ला एक महिनामा जुन उथलपुथल भयो, त्यसको एउटा चित्र उनको मस्तिष्कमा फिट छ जस अनुसार यो सारा प्रकरणमा उनी एक पीडित मात्रै हुन्, कुनै पनि हिसाबले जिम्मेवार वा जवाफदेही हैनन् । यथार्थ र चिन्तनमा यति ठुलो अन्तर हुने अहिले शायदै अरु कोही नेपाली होला । ओलीजीको अरु पार्टीलाई प्रष्ट सन्देश छः सुध्रिने कुरा सोच्दै नसोच्नु, चुनावतिर पनि नलाग्नु । अहिलेको सरकारलाई जसरी हुन्छ फेल बनाएर पुरानो ओलीराज्य फर्काउनु । यो आह्वानको एउटा महत्वपुर्ण आयाम छः बरु विगतको पुनर्लेखन गरौं, आफ्नै महानता र बलिदानीको कथ्य स्थापित गरौं तर खुला दिलले भविष्यबारे सोच्ने र बदलिएको परिवेशमा समाजलाई कसरी अघि लैजाने भन्ने चिन्तन ठ्याम्मै नगरौं ।
जेनजी अभियन्ता हौं भन्ने एउटा समुहको अराजकता छरपस्ट भइसकेको छ र त्यसले अहिलेको सरकारलाई धेरै अप्ठेरो पारिसकेको छ । त्यही अप्ठेरोलाई अझ गहिर्याएर सरकार ढलाउने अनि पुरानो साख र सत्ता फर्काउनेबाहेक अरु विकल्प छैन भन्नेमा ओली पुगेको देखिन्छ । एमालेमा व्यवहारतः केही अपवादबाहेक अरु कसैको मस्तिष्क नचल्ने अवस्थामा त्यो पार्टी अब त्यही रणनीतिमा अघि बढ्ने जोखिम छ ।
अबका लागि त्यो भनेको मुठभेडको बाटो हो । एमाले र सरकारबीच मुठभेड होलाजस्तो लाग्दैन किनकी अहिले सत्तामा हुनेहरु पार्टीका नेताहरुझैं त्यहाँ पुगेर बेसरी शक्ति र धन आर्जन गरौं भनेर त्यहाँ पुगेका छैनन् । जुन दिन लोकप्रिय वैधता सकिएको बोध हुन्छ, त्यही दिन सुशीलाजीको टिमले सत्ता छाड्नेछ र भयंकर राजनीतिक शून्यता सिर्जना हुनेछ देशमा ।
त्यो शून्यतामा जति स्वार्थ समूह हुन्छन्, ती सबैबीच भीषण भीडन्तमार्फत आफ्नो आधिपत्य स्थापना गर्नुको विकल्प रहने छैन । त्यस्तो मुठभेड भइहाल्यो भने भदौ २४ को महाविनाश अल्पविनाश लाग्नेछ । त्यो तबसम्म चल्नेछ जबसम्म देशको सेनाले संकटकाल लगाएर दमन शुरु गर्नेछ । त्यसपछि पनि देशमा अमन चयनको ग्यारेन्टी हुने छैन र वैदेशिक हस्तक्षेपको जोखिम यथार्थमा परिणत हुन सक्नेछ । धेरै देशहरुमा गृहयुद्धहरु शुरु हुने यसरी नै हो । जसले त्यसका लागि प्रज्वलनशील पदार्थ र आगोका झिल्काहरुको जोहो गर्छन्, तिनलाई लाग्छः हामी यसो ज्यादती गरेर सत्ता हासिल गर्छौं अनि सब ठिक भैहाल्छ, अवस्थालाई काबुमा राख्न सकिहाल्छौं । तर त्यसो हुँदैन । आगो हुर्कन थालेपछि त्यसले कसैलाई छाड्दैन ।
सुडानमा सन् २०२३ मा मिलीजुली सरकार चलाइरहेका एक जना जर्नेल र युद्ध सरदारलाई लाग्योः अर्कोलाई पन्छाउन सके एक छत्र शासन गर्न पाइन्छ । त्यहाँबाट शुरु भएको गृहयुद्धमा अहिलेसम्म डेढ लाख बढी मानिस हिंसामा मात्रै मारिएका छन् भने ५ लाखभन्दा बढी बालबालिका कुपोषणबाट मारिएको अनुमान छ । देशभित्र र बाहिर गरेर चानचुन डेढ करोड मानिसहरु विस्थापित भइसकेका छन् । शुरुमा दुवैलाई लागेको थियो एकाध हप्ता वा महिनामा अर्कोलाई खतम पार्न सके देशमा अमन चयन फर्किहाल्छ । तर युद्धको डढेलो आज ५ करोड जनसंख्या भएको देशलाई खरानी बनाउने दिशामा छ र गृहयुद्ध अझै चलिरहेको छ ।
त्यसैले तत्कालका लागि ओलीका उत्तेजक भनाइ र भावभंगिमा एमाले पंक्तिका लागि ऊर्जामय लाग्न सक्लान् । पार्टीलाई उनकै मार्गमा लागेर पुनर्जीवन दिन सकिएला कि भन्ने आश पनि लाग्ला ।
तर तपाइँ हामी सबै जुन धरातलमा उभिएका छौं, त्यो आफैंमा ओलीको पुस्ताले सोचेको भन्दा धेरै पर सर्किसकेको छ । यो युग केपी ओलीजस्ता धेरै दशक अघि सिकाइ र चेतनामा बिर्को लगाएर यथार्थबाट विच्छेदित भएका वयोवृद्धहरुको हैन । यो समय उनीजस्ता मानिसहरु सम्मानजनक राजनीतिक सन्यासमा जाने हो । समय र युगको धड्कन छामेर अघिबाट समाजलाई अघितिरै डोर्याउन सक्ने युवा नेतृत्वको समय हो यो ।
कसैको प्रतिकार र प्रतिशोधमा उत्रनु यसै पनि सबैभन्दा सजिलो काम हो । त्यसमाथि सुदन गुरुङजस्ता सुझ न बुझका अराजनीतिक प्राणीहरुप्रतिको आक्रोशका कारण सिंगो समाजलाई टकराव र मुठभेडको आगोमा झोस्नु कुनै पनि हालतमा बुद्धिमत्तापुर्ण कुरा हैन भन्ने कुरा सर्वप्रथम एमालेभित्रका साथीहरुले बुझुन् । अनि काँग्रेसलगायत अरु दलका साथीहरुले पनि बुझुन् । यो सुझबुझ, धैर्यता, संयम् र गहिरो आत्मचिन्तनको समय हो, आवेश र उत्तेजनाको समय हैन । हैन, सुडानका जर्नेल र सरदारले झैं यो देश खरानी भए पनि आफ्नै वर्चस्वका लागि लड्ने हो भन्नुहुन्छ भने त के भनौं र खै ?