काठमाडौं । दोलाखा जिल्लाको बिगु गाउँपालिका–१ स्थित लप्ची गुम्बामा ध्यान तथा भ्रमणमा गई फर्कने क्रममा बीच बाटोमा फसेका चार जना विदेशी पर्यटकको सशस्त्र प्रहरीले बिहीबार उद्वार गरेको छ ।
उक्त गुम्बामा ध्यान तथा भ्रमणमा गएका रसियाका २ जना र स्वीजरल्याण्डका २ जना गरी ४ जना पर्यटक बाटो अवरुद्ध भएपछि सोही गाउँपालिकाको इलुकमा रहेको नासा हाईड्रोपावरमा बसेका थिए ।
उनीहरु असोज २१ गते गुम्बाबाट काठमाडौ र्फकने क्रममा दोलखाको लामाबगरस्थित लप्ची सडकको कच्ची बाटोमा सुख्खा पहिरो गई अलपत्र परेका थिए ।
उनीहरुलाई बिहीबार बिहान करिब १० बजे सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लामाबगरबाट खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरी काठमाडौतर्फ पठाएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए