काठमाडौं । इजरायली खुफिया निकायले गाजामा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको भिडियो प्राप्त गरेको र सो भिडियो आज साँझ सार्वजनिक गरिने जनाएको छ । यो जानकारी बन्धक परिवार फोरमले आज दिएको हो ।
जोशी परिवारले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘गाजामा फेला परेको यो जीवनको प्रमाण, जसलाई आज हामी सार्वजनिक गर्दैछौं, यसले हामीलाई उनी जीवित रहेको दृढ विश्वास दिलाउँछ।’
जोशी अक्टोबर ७ को हमास आक्रमण हुनुभन्दा तीन हप्ता अघि कृषि शिक्षा कार्यक्रमका लागि इजरायल पुगेका थिए। उनी अन्य केही नेपालीहरूसँगै बसोबास गर्ने किबुत्ज अलुमिमबाट अपहरणमा परेका थिए ।
नोभेम्बर २०२३ मा द वल स्ट्रिट जर्नलले प्रकाशित गरेको रिपोर्टअनुसार, जोशीले आफ्नो आश्रयस्थलमा लुकेका साथीहरूको ज्यान बचाउन वीरता प्रदर्शन गरेका थिए। दुईवटा ग्रिनेड कोठामा प्रवेश गरेपछि उनले एकलाई समातेर बाहिर फ्याँकेका थिए, तर दोस्रो विस्फोट हुँदा उनका पाँच साथीहरू गम्भीर रूपमा घाइते भएका थिए । जोशीलाई हमासले गाजामा लैजाँदा केही समय शिफा अस्पतालमा राखिएको थियो ।
अस्पतालभित्र खिचिएको भिडियोबाहेक उनको जीवित अवस्थाबारे अन्य कुनै प्रमाण सार्वजनिक भएको थिएन ।