तीन जना वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

बीबीसी । यसवर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जापान, अस्ट्रेलिया र संयुक्त राज्य अमेरिका तीन वैज्ञानिकले संयुक्त रूपमा पाउने भएका छन् ।

पुरस्कार समितिका अनुसार ’मेटल–अग्र्यानिक फ्रेमवर्क’ (एमओएफ) विकास गरेकाले जापानका सुसुमु कितागावा, अस्ट्रेलियाका रिचर्ड रब्सन र अमेरिकाका ओमर यागीलाई सन् २०२५ को नोबेल पुरस्कार दिन लागिएको हो ।

समितिका अनुसार उनीहरूले ’मलिक्यूलर आर्किटेक्चर’ को नयाँ शैली विकास गरेका छन्। धातुका आयन र प्राङ्गारिक अणुहरू मिलेर बन्ने स्फटिकजस्ता र सूक्ष्म प्वालहरू भएको संरचना नै एफओएफ हो। पर्यावरण शुद्धीकरणसहित विभिन्न प्रयोजनमा यसको प्रयोग हुन सक्ने विज्ञहरू बताउँछन् ।

यसअघि नोबेल पुरस्कार समितिले सोमबार चिकित्साशास्त्रतर्फ र मङ्गलबार भौतिकशास्त्रतर्फ विजेताहरूको नाम घोषणा गरेको थियो। अब बिहीबार साहित्य, शुक्रबार शान्ति र आगामी साता सोमबार अर्थशास्त्र विधामा विजेताको नाम घोषणा हुने छ।

कितागावाको जन्म सन् १९५१ मा जापानमा भएको हो। उनी क्योटो विश्वविद्यालयमा प्राध्यापक छन् । रब्सनको जन्म सन् १९३७ मा यूकेमा भएको हो। अहिले उनी मेल्बोर्न विश्वविद्यालयमा प्राध्यापन गर्छन् । यागीको जन्म सन् १९६५ मा जोर्डनमा भएको हो।

उनी बक्र्लीस्थित यूनिभर्सिटी अफ क्यालिफोर्नियामा प्राध्यापक छन् । पुरस्कार घोषणा सभामा फोनमार्फत् बोल्दै प्राध्यापक कितागावाले आफ्नो खोज पुरस्कृत भएकोमा सम्मानित महसुस भएको बताए । उनीहरूको सन् १९९२ देखि २००३ मा भिन्नाभिन्नै एमओएफबारे खोज गरेका थिए । त्यसपछि रसायनशास्त्रीहरूले हजारौँ एमओएफ निर्माण गरेका छन् ।

नोबेल पुरस्कार समितिका अनुसार तीमध्ये केही पदार्थ पानीबाट पीएफएएस भनिने कृत्रिम रासायनिक पदार्थ छुट्ट्याउन, वातावरणमा सूक्ष्म मात्रामा चुहिएका एन्टिबायोटिकजस्ता औषधीय पदार्थलाई टुक्राउन, कार्बन डाइअक्साइड जम्मा गर्न वा मरुभूमिको हावाबाट पानी सङ्कलन गर्न प्रयोग गर्न सकिन्छ ।

यो वर्ष चिकित्साशास्त्र विधामा प्रतिरोध प्रणालीसम्बन्धी खोज तथा अनुसन्धानका लागि मेरी ब्रन्को, फ्रेड र्याम्स्डेल र शिमोन साकागुचीले नोबेल पुरस्कार हात पार्ने भएका छन् ।

भौतिकशास्त्रतर्फ क्वान्टम मेकानिक्ससँग सम्बन्धित खोजका लागि अमेरिकामा कार्यरत तीन वैज्ञानिक जोन क्लार्क, मिशेल एच डेभोर र जोन एम मार्टिनिसलाई नोबेल पुरस्कार दिने घोषणा पुरस्कार समितिले गरेको छ ।

रसायनशास्त्रतर्फ सन् १९०१ देखि अहिलेसम्म ११७ पटक गरी २०० विजेताले नोबेल पुरस्कार हात पारेका छन्। तर दुई वैज्ञानिक दुई–दुई पटक यो विधामा पुरस्कृत भएकाले विजेताको कुल सङ्ख्या १९८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *