काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालकै सल्लाहमा एमाले अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि पक्राउ गर्न जेनजी समूहका नेता सुदन गुरुङ जोहरी लिएर गएको बताएका छन् ।
बुधबार पार्टी मुख्यालय च्यासलमा पत्रकार सम्मेलन गरी बस्नेतले गुरुङलाई विभिन्न शक्तिले प्रयोग गरेको दाबी गरेका हुन् ।
उनले भने, ‘सुदनजी जस्ता मान्छेहरू बालेनजी जस्ता मान्छेहरूको योजनामा केपी ओली, रमेश लेखक र महेश बस्नेतलाई गिरफ्तार गुर्नपर्छ भनेर मिडिया ट्रायल गर्छन् । अनि डेलीगेसनमा जान्छन्, प्रधानमन्त्री र गृहमन्त्रीको सल्लाहमा।’
उनले अब आफूहरु सडकमा उत्रिने बताए । मुलुकमा विदेशी चलखेल हुन नदिने उनले बताए । उनले सरकारलाई आफूहरु सामूहिक गिरफ्तारी दिन तयार रहेको बताए ।
उनले भदौ २३ को घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र त्यसमा सहयोग रहने बताए । बस्नेतले आन्दोलनको नाममा सेनाको ज्याकेट लगाएर सार्फसुटर प्रयोग भएको छ कि छैन भन्ने विषयमा छानबिन गर्नुपर्ने बताए । बस्नेतले भ्रष्टाचारको विपक्षमा र सुशासनको पक्षमा भएपनि जेनजी आन्दोलनमा आतंकवादी गतिविधि देखिएको भन्दै आन्दोलनका मुद्दा अपहरण भएको बताए ।
उनले जेनजी पुस्तालाई बदनाम गराउँदै हजारौँ फेक एकाउन्ट चलाएर चार घण्टाभित्र देशलाई बर्वाद पारिएको बताए ।
उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको योजनामा जेनजी आन्दोलनका नाममा प्रत्येक नेताहरुको घर लोकेट गरेको, अहिलेपनि साइबर अपराधमार्फत लुटपाट भइरहेको भन्दै गृहमन्त्रलाय त्यसैको संरक्षणमा लागेको बताए ।
उनले सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्दा हालका अर्थमन्त्री रामेश्वर खनाल र कुलमान घिसिङबाट सुरु गर्नुपर्ने बताए । ‘सम्पत्ति शुद्धीकरण र भ्रष्टाचारको कुरा गर्दा रामेश्वर खनालबाट सुरु गर्ने कि नगर्ने ? कुलमानजीको अख्तियारमा दर्जनौं मुद्दा छ, सम्पत्ति शुद्धीकरणमा दर्जनौं मुद्दा छ । संसदीय समितिमा दर्जनौं मुद्दा छ, अब छानबिन त्यहाँबाट सुरु गर्ने कि नगर्ने ?’
उनले संसद पुनःस्थापनाका लागि आफूहरु सर्वोच्च अदालतमा जाने तयारीमा रहेको बताए । उनले जेनजी आन्दोलनको बहानामा रास्वपा सभापति रवि लामिछानेलाई जेलबाट भगाउनेमाथि छानबिन गर्नुपर्ने बताए ।
उनले भने, ‘२४ गते रवि लामिछानेलाई नख्खु कारागारबाट मुक्त गराउन गएका डीपी अर्याल, मनीष झा र ज्वाला संग्रौलाबारे छानबिन होस् । जेलबाट भागेका १४ हजार कैदीबारे छानबिन होस्, भागेका कैदी कहाँ छन् ? ५ सय चौकी जलाउँदा १२ हजार लुटिएका हतियार कहाँ छन् ?’