टी-२० विश्वकप एसिया छनोट आजबाट, पहिलो खेलमा कुवेतसँग खेल्दै नेपाल

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप एसिया एण्ड इस्ट एसिया प्रशान्त छनोट आजबाट ओमानमा शुरू हुँदैछ । अल अमेराटमा हुने छनोटमा ९ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

छनोटमा आयोजक ओमानसँगै, पपुवा न्युगिनी, मलेसिया, कतार, युएई, जापान, कुवेत र सामोआले आफ्नो दाबेदारी प्रस्तुत गर्दैछन् । छनोटमा सहभागी ९ टोलीलाई तीन/तीन टोलीको तीन समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’मा मलेसिया, कतार र युएई रहेका छन् । यस्तै समूह ‘बी’मा जापान, कुवेत र नेपाल तथा समूह ‘सी’मा ओमान, पपुवा न्युगिनी र सामोआ रहेका छन् । एसिया र इस्ट एसिया प्रशान्त छनोटलाई एउटै क्षेत्र बनाएपछि जापान, पपुवा न्युगिनी र सामोआपनि समेटिएका हुन् ।

तीन समूहको शीर्ष दुई टोली सुपर सिक्समा पुग्नेछन् । सुपर सिक्समा एकै समूहबाट गएका  टोलीले एक अर्कासँग प्रतिस्पर्धा गर्नुपर्ने छैन भने त्यसबाहेक चार टोलीसँग खेलेपछि शीर्ष तीनको टुंगो लाग्नेछ । सुपर सिक्सको शीर्ष तीन स्थानमा रहने टोलीले आगामी वर्ष भारत र श्रीलंका हुने टी-२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गर्नेछन् ।

नेपाल प्रतियोगिताको उपाधिको प्रमुख दाबेदार हो । आईसीसी वरीयताको आधारमा युएईपछि नेपाल सबैभन्दा बलियो राष्ट्र रहेको छ । हाल टी-२० आई वरीयतामा युएई १५ औँ, नेपाल १८ औँ, ओमान २० औँ, पीएनजी २१ औँ, कुवेत २३ औँ, मलेसिया २५ औँ, कतार ३० औँ, जापान ४४ औँ र सामोआ ६९ औँ स्थानमा रहेका छन् ।

नेपाल विरुद्ध कुवेत – हेड टु हेड

समूह ‘बी’मा रहेको नेपालले आज हुने आफ्नो पहिलो खेलमा कुवेतको सामना गर्दैछ  । अल अमेराट क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार राति ८:४५ बजे शुरू हुनेछ ।

दुवै टोली आज जित निकाल्दै प्रतियोगितामा सुखद शुरूवात गर्ने लक्ष्यमा हुनेछन् । छनोट अगाडि भएको दुवै अभ्यास खेलमा विजयी भएको नेपाल आजपनि सोहि लयलाई निरन्तरता दिन चाहन्छ । पहिलो अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो भने दोस्रो अभ्यास खेलमा कतारलाई १६ रनले पाखा लगाएको थियो ।

ओमान भ्रमण गर्नु अगाडि युएईमा टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध भएको तीन खेलको सिरिजमा २-१ को एतिहासिक जित निकालेको नेपाल उच्च मनोबलमा रहेको छ । नेपालले आफ्नो पछिल्लो ५ खेलमा तीन जित र दुई हारको नतिजा निकालेको छ । सन् २०१४ र २०२४ मा विश्वकप खेलिसकेको नेपाल लगातार दोस्रोपटक विश्वकपमा छनोट हुने लक्ष्यमा हुनेछ ।

यता अन्डर डगको रुपमा  हेरिएको कुवेत आफूभन्दा बलियो नेपाललाई स्तब्ध बनाउँदै प्रतियोगिताको शुरुवात गर्ने दाउमा रहेको छ । गत अप्रिलमा हङकङमा भएको चार देशीय टी-२० सिरिजको फाइनल खेलमा नेपाललाई ३ रनले हराउँदै उपाधि जितेको कुवेत आजपनि सोहि नतिजाको अपेक्षामा रहेको छ ।

कुवेतले आफ्नो पछिल्लो पाँच खेलमा दुई जित र तीन हारको नतिजा निकालेको छ । छनोटको तयारी स्वरूप ओमानसँग दुई खेलको टी-२० सिरिज खेलेको कुवेत दुवै खेलमा पराजित भएको थियो । कुवेत पहिलोपटक विश्वकपमा छनोट हुने लक्ष्यमा रहेको छ ।

नेपाल र कुवेतबीच टी-२० आईमा हालसम्म तीन पटक भेट हुँदा दुई खेलमा नेपालले बाजी मार्दा कुवेतले एक खेल आफ्नो पक्षमा पारेको छ ।

नेपाली टोली :- रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह एरी(उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, मोहम्मद आदील अलाम, सन्दीप जोरा, आरिफ शेख, ललित राजवंशी, गुलसन झा, लोकेश बम

कुवेतको टोली :- अली जाहिर, बिलाल ताहिर, क्लिन्टो आन्टो, मोहम्मद अमिन, मुहमम्द उमार, रभिजा सन्दारुवान,  मोहम्मद अस्लाम(कप्तान), नविनराज राजेन्द्रन, निमिश लाथिफ, शिराज खान, याशिन पटेल, मित भावसार, उस्मान पटेल,  अनुपदीप चेन्थामारा, मोहम्मद शाफिक, मोहम्मद आकिफ फारुक,

नेपालको सम्भावित प्लेइङ ११ :- कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), रोहित पौडेल(कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह एरी, गुलसन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी

कुवेतको सम्भावित प्लेइङ ११ :- क्लिन्टो आन्टो, मित भावसार, उस्मान पटेल (विकेटकिपर), अली जाहिर, मोहम्मद अस्लाम(कप्तान), बिलाल ताहिर, यासिन पटेल, नविनराज राजेन्द्रान, रभिजा सन्दारुवान, अनुपदीप चेन्थामारा, मोहमद शाफिक

पछिल्ला तीन खेलको नतिजा

कुवेत ३ रनले विजयी (चार देशीय टी-२० सिरिज २०२५)

नेपाल ६ विकेटले विजयी (चार देशीय टी-२० सिरिज २०२५)

नेपाल ७ विकेटले विजयी (आईसीसी टी-२० विश्वकप एसिया छनोट २०१९)

प्लेयर टु वाच

कुशल भुर्तेल (नेपाल)

ओपनर कुशल भुर्तेल नेपाल टोलीका मुख्य खेलाडी हुन् । सन् २०२१ मा नेदरल्याड्सविरुद्ध खेल्दै नेपाली टोलीमा डेब्यु गरेका कुशलले ६१ खेलमा एक हजार ३ सय ९८ रन बनाएका छन् । हालसम्म उनले टी-२० आईमा ९ अर्धसतक र एक सतक बनाएका छन् भने २९ विकेटपनि लिएका छन् । कुशल ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा योगदान गर्न सक्ने खेलाडी हुन् । हालै युएईमा वेस्ट इन्डिजविरुद्ध भएको टी-२० आई सिरिजमा ब्याटमा खासै चल्न नसकेका कुशल बलिङ र फिल्डिङमा गरेको प्रदर्शनको कारण ‘प्लेयर अफ दी सिरिज’ बनेका थिए । उनले कुवेतविरुद्ध दुई खेलमा एक अर्धसतकसहित ८४ रन बनाएका छन् ।

 मित भावसार (कुवेत)

२१ वर्षीय ब्याट्सम्यान भावसार नेपाली बलरको लागि टाउको दुखाइ बन्न सक्ने खेलाडी हुन् । आक्रामक ब्याटिङ गर्न सक्ने भावसारले टी-२० आईमा ७१ खेल खेल्दै १२ अर्धसतकसहित १ हजार ७ सय २४ रन बनाएका छन् । यस्तै उनले १७ इनिंसमा १२ विकेट लिएका छन् । नेपालविरुद्ध तीन खेल खेलेका उनले ५६ रन बनाएका छन् ।

आज हुने अन्य खेलहरु

ओमान विरुद्ध सामोआ (बिहान ११:४५ बजे)

कतार विरुद्ध युएई (दिउँसो ४:१५ बजे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *