-बालेन साह ।
‘यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो ?’ ‘तीन दिनसम्म जलेको हेरेर बस्यो ?’ ‘सिंहदरबार जलाउने नै बालेन साह हो!’ यस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेका छन् । हुनत यस्तो प्रश्न र आरोपको स्पष्टीकरण दिनु आवश्यक पनि छैन, प्रत्येक नागरिकलाई सूचना लिन अधिकार छ, आवश्यक जोसुकैले सूचनाको हक (Right to information RTI)को आधारमा महानगरबाट जानकारी लिन सक्नुहुन्थ्यो र सक्नुहुन्छ पनि। तर पनि, हुदै नभएको गलत आरोप फैलाउनेहरूलाई एकमुष्ट रूपमा सम्बोधन गर्न यो लेख्दैछु।गत भदौ २४ गतेको दिन धेरैले बिर्सिसक्नु भयो होला । त्यो दिन राति ८ बजेसम्म देश नै अस्तव्यस्त थियो एक हिसाबले भनौं त्यो बेला “राज्य” नै ठप्प थियो । त्यो दिन देशमा सरकार त थिएन तर स्थानीय सरकार काठमाडौं महानगर आफ्नो दायित्वबाट पछाडी हटेको थिएन । सिंहदरबारदेखि व्यापारिक प्रतिष्ठान, व्यक्तिगत घरदेखि सार्वजनिक सम्पत्तिसम्म सबैतिर आगो थियो । न सरकार थियो, न सुरक्षा संयन्त्र, न प्रहरीले आफ्नो चौकी जोगाउन सके यस्तो पूर्ण अराजक स्थितिमा सम्पूर्ण संरचना नै ढलेको थियो ।
सवारीसाधन आवतजावतको त कुरै छाडौं मान्छे समेत हिँडडुल गर्न सक्ने अवस्था थिएन, तरपनि हाम्रो टिम दिन रात नभनी आगो निभाउन, घाइतेहरुको उपचार, कुरुवा र बिरामीको लागि खाना, लजिस्टिक व्यवस्थापन, स्वास्थ्यकर्मी व्यवस्थापन, रगत व्यवस्थापन, औषधि व्यवस्थापन, शव व्यवस्थापन, जलेका संरचनाहरुको तथ्याङ्क संकलन, जलेका गाडीहरुको व्यवस्थापन, फोहोर व्यवस्थापन र विभिन्न सरोकारवाला निकायहरुसंगको समन्वयमा व्यस्त थियो । जिउज्यानको जोखिम मोल्दै फिल्ड मा खटिनुहुने सम्पूर्ण प्रति सम्मान व्यक्त गर्दछु।
सिंहदरबार जलेको लगत्तै दमकल जाने प्रयास गरेतापनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान सकेको थिएन, नेपाली सेनाको दमकल सिंहदरबार भित्रै हुँदा पनि निभाउने प्रयास गर्न सकेको थिएन, कारण थियो हुलले दमकललाई काम गर्न नदिएको जब भिड अलिक शान्त हुने बित्तिकै २४ गते साँझ ८ः१५ भित्रै काठमाडौँ महानगरको दमकल त्यहाँ पुगेको थियो । हामी कुनै आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त अझै होइन।
काठमाडौं महानगरको न्युरोडमा २ वटा, बालाजु मा २ वटा र रामहिटी मा १ वटा गरि जम्मा जम्मा ५ वटा दमकल संचालनमा रहेका छन् । १४ जना नगर प्रहरी र ३० जना शसस्त्र प्रहरी गरी जम्मा ४४ जनाको टिमले ३ सिफ्टमा काम गर्नुहुन्छ , १ सिफ्ट मा १ दमकल मा बढीमा ३ जना मात्र जनशक्तिमार्फत दमकल संचालन गरिएको छ। २३ गते केही स्थानमा र २४ गते सिंहदरबारमात्रै होइन, काठमाडौंमात्रै होइन, सिङ्गो देश जल्दै थियो । महानगर भित्र जुनसुकै संरचना जले पनि जोगाउने प्रमुख दायित्वबोध हामीले गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो।
अब कुरा गरौं दमकल को ५/२३ गते दिउसो १ः३० देखि ५ बजेसम्म संसद भवन अगाडी आगो लागिरहेको एम्बुलेन्समा न्युरोड र रामहिटी दमकलले आगो निभाइरहेको थियो भने न्युरोडकै अर्को दमकलले सुन्धारा र शान्तिनगर बिजुलीको पोलमा आगो निभाइरहेको थियो, २४ गते बिहानैदेखि कुनै पनि दमकल संचालनमा आउन सकेको थिएन, २४ गते राति ८ बजे देखि १ बजेसम्म विशाल बजार जनसेवा प्रहरी वृत, हिमालयन बैंक र राष्ट्रिय वाणिज्य बैंक बानेश्वरमा न्युरोड दमकलले तथा नयाँ बसपार्कमा बालाजु र रामहिटी दमकलले आगो निभाइरहेको थियो ।
२४ गते नै राति ८ः१५ देखि ९ः४५ सम्म, २४ गते को राति २५ गते बिहान १ः४५ देखि ३ः०० बजे सम्म, २६ गते दिउसो ३ः३० देखि ६ः५० सम्म र सोही दिन साँझ ५ बजेदेखि ६ बजेसम्म सिंहदरबारमा आगो निभाइरहेका थिए ।२५ गते मध्यान्ह १२ः२० देखि १ः३० सम्म संसद भवन, २५ गते नै दिउसो ३ः३० देखि ४ः३० सम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, डिल्लीबजार कारागार लगायत का स्थानमा, २६ गते बिहान ९ः२५ देखि १०ः१५ सम्म, २७ गते बिहान ८ः०० देखि ९ः१५ सम्म, सोही दिन अपरान्ह ४ बजे देखि साँझ ६ बजेसम्म सर्वोच्च अदालत परिसरमा आगो निभाएको त्यहाँको महत्वपूर्ण कागजहरु बचाएको प्रमाण हामीसँग सुरक्षित नै छ ।
त्यस्तै आन्दोलन सुरु भएको दिन २३ गतेदेखि २८ गते सम्म हाम्रो दमकलमाथि उल्लेखित र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बबरमहल जिल्ला अदालत, चुच्चेपाटी भाटभटेनी, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्था विभाग, शहरी विकास विभाग, ग्राण्डी अस्पताल नजिकैको गोदाम, थापाथली डाटा सेन्टर, एनसेल डाटा सेन्टर, बालाजु प्रहरी वृत, स्वयम्भु प्रहरी वृत्त, नक्साल हिल्टन होटल, नक्साल भाटभटेनी, कुलेश्वर घरमा, चाक्सीबारी घरमा, बालुवाटार भाटभटेनी गोदाममा, रानीपोखरी प्रहरी, कोटेश्वर भाटभटेनी, गुणस्तर विभाग भाटभटेनी नक्साल मन्दिर पछाडी फर्निचर, सडक बिभाग लगायतका स्थानमा ५५ पटक भन्दा धेरै हाम्रो दमकल पुगेको छ।जसको विस्तृत विवरण यहीँ राखेको छु। सँगसँगै हिल्टन होटल, बनबासा होटल लगायत बाट सेना समेतको सहकार्यमा उद्धार कार्य गरिएको थियो।
अब कुरा गरौं स्वास्थ्यकर्मी व्यवस्थापन, घाइतेको उपचार र सहिदहरुको शव व्यवस्थापनको ,संघीय सरकारले घोषणा गर्नुपूर्व नै महानगर भित्रका सम्पूर्ण अस्पताललाई निः शुल्क उपचारको लागि समन्वय,अस्पतालको लागि आवश्यक औषधि व्यवस्थापन, नपुग स्वास्थ्यकर्मीको व्यवस्थापन, रगत व्यवस्थापन, बिरामी तथा बिरामी कुरुवाहरुको लागि निःशुल्क खाजा/खाना, अन्य आवश्यक लजिस्टिक ,सुत्नको लागि म्याट लगायत अन्य सामग्रीको व्यवस्थापनमा महानगरको सचिवालय, नगरप्रहरी, स्वास्थ्यकर्मीलगायतको टिम रातदिन खटिएको थियो । उपचारको लागि अभिभावक नभएका सम्पूर्ण बिरामीहरुको अभिभावक हाम्रो टिम बनेको थियो यतिसम्म कि, अपरेसन गर्दा Informed Consent Form मा समेत हाम्रो नगर प्रहरीले जिम्मेवारी लिई हस्ताक्षर गरेको छ । शव व्यवस्थापनको लागि परिवारलाई आउने जाने, खाने बस्ने व्यवस्थापन पनि महानगरले गरेको थियो । यतिसम्मकी नेपाली सेना लगायत अन्यको सहकार्यमा शवलाई घरसम्मै पुर्याउने व्यवस्था समेत गरेका थियौं ।
अन्त्यमा,
प्रिय आमा बुवा,दाजु भाइ, दिदी बहिनी, तपाईंहरूको मनमा भय, भ्रम र प्रश्न उठ्नु स्वाभाविक हो । तर बिना तथ्य, डाटा विश्लेषण नगरी निष्कर्ष निकाल्ने विश्लेषकहरू र अफवाह फैलाउनेहरुसँग सावधान रहनु होला । यस्तो कार्यले जनतालाई डर र भ्रममा राख्छ, र दिन रात नभनी खट्ने हाम्रो टिमको मनोबल गिराउँछ । मिडियाका मित्रहरूमा विशेष अनुरोध, कृपया सत्य तथ्य खोजेर मात्र समाचार लेख्नुहोस्। अफवाह नफैलाउनुहोस्। जनताले सही जानकारी पाउने अधिकार राख्छन्।
हामी महानगरको टिम दिन–रात, जिउ ज्यानको जोखिम मोल्दै खटिएका थियौं ,मलाई यसको कुनै जस चाइएको छैन कमसेकम आगो निभाउन, घाइतेको उपचार गर्न, बिरामीलाई खाना र औषधि उपलब्ध गराउन, शव व्यवस्थापन गर्न, उद्धार कार्यमा सहयोग गर्न खटिनेलाई त सम्मानजनक दृष्टिले हेर्नुहोस् । जनतासँगको भरोसा, हाम्रो जिम्मेवारी र आपत्कालिन व्यवस्थापनका लागि हामी सधैं खटिरहनेछौं । सत्य बुझौं, अफवाह फैलाउने काम नगरी, सबै मिलेर सुरक्षित, सचेत र मानवताप्रधान समाज बनाऔँ । अन्त्यमा देशलाई एकता र साँचो कुराको खाँचो छ हल्ला र झुटको हैन ।।