काठमाडौं । विभिन्न राजनीतिक दलमा आवद्ध नेताहरुले आआफ्ना दलहरुलाई पुनर्गठन गर्ने काममा कुनै पनि ढिलाई नगर्न आग्रह गरेका छन् ।
अरविन्द सिंह, . अभिजित अधिकारी, अशेष घिमिरे, उषाकिरण तिम्सेना, करुणा पराजुलीलगायत २८ राजनीतिकर्मीले मंगलबार विज्ञप्ति जारी गरी सबै राजनीतिक दलका दोश्रो/तेश्रो तहका नेताहरु र ती पार्टीका जिम्मेवार सदस्यहरुलाई यस्तो आह्वान गरेका हुन् ।
उनीहरुले भनेका छन्, ‘राजनीतिक दलहरुमा पुनर्गठन, जनतामा आशा र विश्वासको सिर्जना, ती दलहरुको लोकतान्त्रिक सहकार्य, नयाँ निर्वाचन एउटा बाटो हो । दलहरुमा अलमल, पुरानै नेताहरुको निरन्तरता, समाजमा अन्योल, निराशा र आक्रोश बढाउने शक्तिहरुको बोलबाला, बाहिरी शक्तिहरुको चलखेल र अस्थिरताको दुश्चक्र अर्को बाटो हो । राजनीतिलाई लोकतान्त्रिक प्रक्रियामा अगाडि बढाउन दलहरुको पुनर्गठन आजको मुख्य शर्त हो । लामो समय नेतृत्वमा बसेर राजनीतिलाई असफल बनाइरहेका मुख्य पात्रहरुलाई बिदा नगरिकन दलहरुको पुनर्गठन हुनै सक्दैन । त्यसैले, आआफ्ना दलहरुलाई पुनर्गठन गर्ने काममा कुनै पनि ढिलाई नगर्न सबै राजनीतिक दलका दोश्रो÷तेश्रो तहका नेताहरु र ती पार्टीका जिम्मेवार सदस्यहरुलाई हामी आह्वान गर्दछौँ ।’