काठमाडौं । तिब्बतस्थित सगरमाथाको पूर्वी क्षेत्रमा आएको हिम आँधीका कारण फसेका सयौँ पदयात्रीलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको छ । बाँकी २०० भन्दा बढी पदयात्रीहरूसँग पनि सम्पर्क स्थापित भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।
असामान्य रूपमा भारी हिमपात र वर्षाले हिमालय क्षेत्र प्रभावित बनेको हो । करिब ४ हजार ९ सय मिटर उचाइमा रहेको क्षेत्रसम्म पुग्ने बाटो हिउँले अवरुद्ध भएपछि गाउँले र उद्धार टोलीलाई बाटो खोल्न खटाइएको छ । उद्धार गरिएका पदयात्रीहरूलाई क्वुदाङ नामक सानो बस्तीमा स्थानान्तरण गरिएको बताइएको छ ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार आँधीका कारण करिब एक हजार पदयात्री पर्वत क्षेत्रमा फसेका थिए । १८ सदस्यीय पदयात्रा टोलीसँग सुरक्षित फर्किएकी पर्यटक चेन् गेश्वाङले भनिन्, ‘पहाडमा अत्यधिक चिसो र भिजेको थियो, हाइपोथर्मियाको जोखिम धेरै थियो।’ उनका अनुसार, यो वर्षको मौसम असामान्य छ ।
चीनको राष्ट्रिय दिवसको आठ दिन लामो बिदा मनाउने अवसरमा सयौँ पर्यटकहरू सगरमाथाको पूर्वी काङशुङ्ग क्षेत्रतर्फ पुगेका थिए। तर शुक्रबार साँझदेखि सुरु भएको भारी हिमपात शनिबार दिनभर भएको थियो ।
तिब्बतको ‘ब्लू स्काइ रेस्क्यु’ टोलीले हिउँको भारका कारण तम्बूहरू भत्किएको र केही पदयात्री हाइपोथर्मियाबाट ग्रस्त भएको खबर पाएपछि उद्धार कार्य सुरु गरेको थियो । सिसिटिभीका अनुसार बाँकी पदयात्रीहरूलाई स्थानीय सरकारद्वारा परिचालित उद्धार टोलीको सहयोगमा चरणबद्ध रूपमा क्वुदाङमा ल्याइनेछ।