-डा. रामकृष्ण तिमल्सेना
नेपाल आज राजनीतिक रूपमा स्वतन्त्र छ, तर ब्यवहारमा र आत्मामा अझै दाश छ। हामीले झण्डा र हात त उठायौं, तर चेतना उठाउन सकेनौं। देशको नाम लियौं, तर हृदयमा राष्ट्रको स्वरुप र नक्सा राख्न सकेनौं। संकटको घडीमा हामी प्रायः अरूलाई दोष दिन्छौं– कहिले भारत, कहिले चीन, कहिले अमेरिका। तर सत्य के हो भने नेपाललाई कसैले हराइरहेको छैन; नेपाल आफैं आफ्नै कमजोरीबाट हराइरहेको छ। राष्ट्र निर्माण बाह्य शक्तिले होइन, हरेक नागरिकको जागरूक चेतनाले सम्भव हुन्छ।
आफूबाट सुरु हुने शासनः
दोष दिन सजिलो छ, किनकि यसले हामीलाई आफ्ना कमजोरीको सामना नगरी जोगाउँछ। दोष दिने संस्कृतिले हामीलाई आलोचक बनायो, तर सर्जक बनाएको छैन। संकटको घडीमा हामीले आफैँसँग सोध्नु पर्छ–’मैले के गरें?’ नेताको प्रतीक्षा गरिरहेका छौं, तर नेता जन्माउने समाजको भूमिका बिर्सिएका छौं। संविधान र नीति बनाइयो, तर अनुशासन र चेतनाको निर्माण नगरी मात्र नारा घन्कायौं। यही कमजोरी नै हाम्रो अस्थिरता र राजनीतिक असफलताको मूल कारण हो।
भगवद्गीताले भन्छ ३’उद्धरेदात्मनाऽत्मानं,’ अर्थात् मानिसले आफैंलाई आफैंले उठाउनुपर्छ। नेपालको मुक्ति यही वचनमा निहित छ। बाह्य सहयोग वा सल्लाहले राष्ट्र बच्दैन, नेपालीको आत्मा जागृत हुनुपर्छ। जब किसानले आफ्नो खेत ईमानदारीपूर्वक जोत्छ, शिक्षकले निष्ठापूर्वक पढाउँछ, न्यायाधीशले सत्य बोल्न डराउँदैन, युवाले राष्ट्रभन्दा माथि पार्टीको स्वार्थ राख्दैन, त्यही दिन नेपाल जाग्नेछ। आन्तरिक आत्म अनुशासनका क्षणमा मात्र देश र शासन स्थायी हुन सक्छ।
रणनीति र विवेक
नेपाल दुई विशाल देश बीच अबस्थित छ। यसको भौगोलिक स्थिति संवेदनशील छ, तर त्यही संवेदनशीलता अवसरमा बदल्न सकिन्छ। विदेशी शक्तिहरू स्वभावतः आफ्नो स्वार्थ हेर्छन्; त्यसमा दोष छैन। तर हाम्रो कमजोरी भनेको भविष्यको दृष्टिकोण, रणनीति र निर्णय क्षमतामा छ। यदि हामी भावनात्मक प्रतिक्रियाभन्दा बुद्धिमतापूर्वक योजना बनायौं भने कुनै पनि बाह्य दबाबले हाम्रो अस्तित्वलाई खतरा पुर्याउन सक्दैन। राष्ट्रको सुरक्षा रणनीति केवल प्रतिरोध होइन, पूर्वदृष्टि र विवेकपूर्ण निर्णयमा आधारित हुनुपर्छ।
सिंहदरबारभन्दा बाहिर जन्मिने शासन
नेपालको शासन सिंहदरबारमा मात्र जन्मदैन, प्रत्येक घर र हृदयमा जन्मिन्छ। जब नागरिक आफ्ना दायित्वमा सत्य र निष्ठापुर्वक लागि पर्छन्, तब राष्ट्रको शासन स्वयम् पवित्र र बलियो हुन्छ। दोषको संस्कृतिले विभाजन ल्याउँछ, तर योगदान र उत्तरदायित्वको संस्कृतिले एकता ल्याउँछ। अब समय आएको छ, अरूलाई दोष दिने संस्कृतिलाई छोडेर आफैं सुधार्ने, आफ्ना जिम्मेवारीलाई आत्मसात गर्ने संस्कृतिको विकास गर्नु पर्नेछ। राष्ट्रको पुनर्जागरण दोषबाट होइन, दायित्व र योगदानबाट हुन्छ।
नेतृत्व र युवा शक्तिः
राजनीतिक नेतृत्वका दृष्टिले पनि अब समय आएको छ। शीर्ष तहका नेता र वरिष्ठ राजनीतिक दलका सदस्यहरूले सक्रिय राजनीतिबाट पछि हटेर सलाहकारको भूमिका निर्वाह गर्नु आवश्यक छ। युवा नेतृत्वलाई अगाडि आउन प्रोत्साहित गरिनुपर्छ, ताकि उनीहरूले देशका चुनौतीहरू नयाँ दृष्टिकोण र उत्साहका साथ समाधान गर्न सकून्। अनुभवको मार्गदर्शन र युवाको जोश सँगै रहेमा मात्र नेपालले स्थिर, प्रगतिशील र सुसंगठित राष्ट्र बन्न सक्छ।
अभिभावक र सन्तानः
यस यात्रामा अभिभावकहरूको भूमिका अतुलनीय छ। आफ्ना सन्तानलाई दोष दिने संस्कृति र आलस्यको बाटो होइन, जिम्मेवारी र सक्रियताको पाठ सिकाउनु पर्दछ। अभिभावकले स्वयं पनि उत्पादक र जिम्मेवार नागरिक बन्नुपर्छ, ताकि आफ्नो उदाहरणबाट सन्तानमा सकारात्मक संस्कार विकसित होस्। जेनरेशन जेडले अब पर्खाइ नगरी सक्रिय भूमिका लिनुपर्छ, सोच मात्र होइन, कार्यमा अग्रसर हुनुपर्छ। युवाहरूले चेतना र साहसका साथ अगाडि बढे मात्र राष्ट्र उज्यालो हुनेछ।
मैले देखेको उज्यालोको मार्गः
नेपाललाई अरु कसैले बाह्य शक्तिबाट बचाउन सक्दैन। यो शक्ति नेपालीको हृदयमा छ। नेपालीको मन र कर्ममा हुन पर्दछ। हामीले आफैंलाई उठाउनुपर्छ, आफ्नो कमजोरी स्वीकार्नुपर्छ, आफ्नो बलमा विश्वास गर्नुपर्छ। अँध्यारोलाई दोष नदिनुहोस्, आफ्नै दियो बाल्नुहोस्। देश उज्यालो हुन्छ, जब हरेक नेपालीको मन उज्यालो हुन्छ। नेपालको मुक्ति नयाँ प्रणालीमा होइन, पुरानो आत्माको पुनर्जागरणमा छ। यही जागरणको क्षणमा नेपाल फेरि हिमालजस्तै दृढ, गंगाजस्तै पवित्र, र जनकजस्तै विवेकी हुनेछ। हरेक नेपालीले नेपाललाइ मन बचन र कर्मबाट बचाउनेछ , यदि नेपालीहरू अरुको दोष देख्न होइन, आफनो क्षमता र उत्तरदायित्व संझन सक्ने भए भने। उनीहरु राष्ट्रदीप बन्न सक्छन् । एकपटक राष्ट्रले सबैको सामूहिक प्रयत्न मागेकोछ। कन्जुस र स्वार्थी नबनौं।