काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अझै पनि भारी वर्षा हुने बताएको छ । शनिबार राति विशेष बुलेटिन सार्वजनिक गरी महाशाखाले आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रही बाँकी भू–भागमा साधारण बदली रहने जनाएको छ ।
ती प्रदेशका पहाडी र तराई भू–भागमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा पर्ने सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै, कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
कोशी, मधेश र बागमतीका एक–दुई स्थानमा धेरै भारी वर्षा पर्ने सम्भावना पनि रहेको विभागको भनाइ छ । आइतवार पनि कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ भने सोमबारदेखि मौसम क्रमशः सुधार हुँदै जाने विभागले जनाएको छ।