काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले असोज २० गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा भई बाढी–पहिरोको जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेकाले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
शुक्रबार विज्ञप्ति जारी गरी कार्यालयले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन सक्रिय हुने भएकाले कतिपय स्थानमा भारीदेखि अति भारी वर्षा हुने अनुमान गरिएको उल्लेख गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो ।
कार्यालयले गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपांगता भएका व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको छ । साथै, स्थानीय तह, विपद् व्यवस्थापन समिति, सुरक्षाकर्मी, स्वयंसेवक तथा सरोकारवाला निकायलाई पूर्वतयारी र राहत–उद्धारका लागि तयार रहन निर्देशन दिइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विपद पूर्व तयारी प्रतिकार्य र उद्धारमा संलग्न हुने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद व्यवस्थापन समिति, जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन र मितिहरूले आआफ्नो जिम्मेवारीका विषयहरूमा उच्च सक्रियताका साथ कार्य गर्न एवं सबै सुरक्षा निकायका उद्धारकर्मीहरू, स्वयंसेवकहरू, गैरसरकारी संस्थाहरू, आपतकालीन कार्य सञ्चालन केन्द्रका जिम्मेवार अधिकारीहरू, आवागम सुचार गर्ने जिम्मेवार निकायहरूले समेत उच्च सतर्कताका साथ विपद पूर्वतयारी, प्रतिकार्य, खोज उद्धार, राहत तथा पुनस्र्थापना कार्य प्रभावकारी रूपले सम्पादन गरी विपदबाट सिर्जना हुन सक्ने जोखिम न्यूनीकरणमा योगदान पुयाउनु हुन समेत अनुरोध गर्दछु ।’

