काठमाडौं । बाढी पहिरोका कारण कोशी र बागमती प्रदेशका पाँच ठाउँमा मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभाको भोटखोला गाउँपालिका–४ बरुणमा निरन्तर वर्षाका कारण कोशी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। त्यस्तै, संखुवासभाकै मकालु गाउँपालिका–३ एकुवामा पनि लामो समयदेखि बन्द कोशी राजमार्ग सुचारु हुन सकेको छैन ।
त्यसैगरी रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा नेपाल–चीन नाका जोड्ने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ भने सोही गाउँपालिकामा आज बिहान गएको पहिरोका कारण पासाङ ल्हामु सडकखण्ड पनि बन्द भएको छ ।
यस्तै, सिन्धुपाल्चोकको भोटकोशी गाउँपालिका–४ चारकिलो नजिकै गएको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।