सहिद परिवारसँग भेट गरी प्रधानमन्त्रीले भनिन्–राज्यले मृतकलाई फर्काएर ल्याउन नसके पनि मद्दत गर्छौं

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विजया दशमीको अवसरमा जेनजी आन्दोलनका सहिद परिवारसँग भेट गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौँको वनस्थलीमा पुगेर सहिद सौरन किशोर श्रेष्ठको परिवारसँग भेट गरेकी हुन् । प्रधानमन्त्रीले नागार्जुन–३ पुगेर सहिद कान्छी नगरकोटीका परिवार र कीर्तिपुरस्थित मैत्रीनगर पुगेर सहिद बुद्धिबहादुर तामाङको परिवारसँग भेट गरेकी छन् ।

त्यसक्रममा प्रधानमन्त्रीले सरकारमा हुनेहरूको कुबुद्धिका कारण जेनजी पुस्ताको ज्यान गएको बताइन् । उनले राज्यले मृतकलाई फर्काएर ल्याउन नसके पनि मद्दत गर्ने प्रतिबद्धता जनाइन् ।

प्रधानमन्त्री कार्कीसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल पनि सहिद परिवारलाई भेटन गएका थिए ।

मन्त्री खरेलले सहिद परिवारसँग भेट गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘प्रधानमन्त्रीले पनि विजया दशमीमा टीका लगाउनु भएन, मैले पनि टीका लगाइन्, जेनजी आन्दोलनका मृतक तथा सहिद परिवारसँग भेटघाट र कुराकानी गरियो, सहिद परिवारको इच्छा सहिदको रगतले न्याय पाउनुपर्छ भन्ने चाहना रहेको थियो ।’

गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा ७६ जनाको मृत्यु भइसकेको छ । अझै केही घाइतेको अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *