लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजनीतिक सल्लाहकार, जनसम्पर्क सल्लाहकार र विज्ञहरुलाई हटाएका छन् । मुख्यमन्त्री आचार्यले आफ्नो सचिवालयका ४ विज्ञ र २ सल्लाहकारसहित ६ जनालाई हटाएका हुन् ।
संघीय सरकारले फजुल खर्च रोक्न आवश्यकता भन्दा बढी विज्ञ, सल्लाहकार र संयोजक नराख्ने निर्णय गरेपछि मुख्यमन्त्रीले सल्लाहकारहरु हटाएका हुन् । मुख्यमन्त्री आचार्यले राजनीतिक सल्लाहकार लक्ष्मणराज ज्ञवाली, जनसम्पर्क सल्लाहकार रामबहादुर राउत, अर्थविज्ञ ईश्वरीप्रसाद अर्याल, पूर्वाधार विज्ञ जीवन अर्याल, ग्रामीण विकास विज्ञ युवराज घिमिरे र शिक्षा विज्ञ दलबहादुर गुरुङलाई हटाएका हुन् ।
यस्तो मुख्यमन्त्री आचार्यको सचिवालयको विज्ञप्ति
प्रेस विज्ञप्ति
विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री चेतनारायण आचार्यज्यूको सचिवालयसँग जोडेर आइरहेका समाचार तथा टिप्पणीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ अनुसार राजनीतिक सल्लाहकार, जनसम्पर्क सल्लाहकार र विज्ञहरूको नियुक्ति गरिएको थियो । माननीय मुख्यमन्त्रीज्यूले ती सल्लाहकार र विज्ञहरुलाई बिदा गरिसक्नुभएकोले यस सम्बन्धमा भ्रमपूर्ण समाचारहरूमा विश्वास नगर्न हार्दिक अनुरोध गर्दछौं ।
सुशासन प्रवद्र्धनका लागि प्रदेश सरकारले युवापुस्ताको भावना अनुसार सुरुदेखिनै काम गर्दै आएको छ । यसै क्रममा पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधा एक वर्षअघि नै खारेज गरिएको, पाँच लाखभन्दा माथिका योजनाहरू खुला प्रतिस्पर्धामार्फत कार्यान्वयन गरिएको, साथै भ्रष्टाचारविरुद्ध पाँच वर्षे रणनीतिक योजना बनाई कार्यान्वयन भइरहेको जानकारी गराउन चाहन्छौं ।
सचिवालय
२०८२ असोज १५ गते