बेइजिङ । चीनले विज्ञान र प्रविधि क्षेत्रमा विदेशी प्राविधिक प्रतिभालाई आकर्षित गर्ने उद्देश्यसहित बुधबार नयाँ भिसा कार्यक्रम ‘के भिसा’ लागू गरेको छ । यो कदमलाई चीनले आफूलाई संयुक्त राज्य अमेरिकाभन्दा अगाडि विश्व नेताका रूपमा स्थापित गर्ने रणनीतिक प्रयासको हिस्सा भएको जनाएको छ ।
यो उपाय यही अगस्टमा घोषणा गरिएको थियो । हालै अमेरिकाले आफ्ना कुशल कामदार भिसामा आकस्मिक रूपमा नयाँ र महँगो परिवर्तनहरू गरेको सन्दर्भमा चीनको यो नीति विपरीत धारका रूपमा आएको हो ।
चिनियाँ राज्य सञ्चारमाध्यमहरूका अनुसार नयाँ भिसाले आप्रवासन प्रक्रियालाई निकै सहज बनाउनेछ । पिपुल्स डेली ले लेखेको छ, ‘केही देशले अन्तर्राष्ट्रिय प्रतिभालाई बेवास्ता गरिरहेको अवस्थामा चीनले यस अवसरलाई समयमै उपयोग गर्दै तत्कालै यो नीति अघि सारेको छ ।’
अन्य भिसा श्रेणीहरूको विपरीत ‘के भिसा’ प्राप्त गर्न आवेदकले अनिवार्य रूपमा घरेलु रोजगारदाता वा संस्थाबाट निमन्त्रणा लिनुपर्ने छैन । साथै, यस भिसाले धारकलाई प्राप्त हुने प्रविष्टिको सङ्ख्या, वैधता अवधि र बसाइ अवधि सम्बन्धी थप सुविधा प्रदान गर्ने सिन्ह्वा समाचार एजेन्सीले जानकारी दिएको छ ।
यस भिसाको लक्ष्य समूह ‘युवा विदेशी वैज्ञानिक र प्राविधिक प्रतिभा’ भएको जनाइए पनि आवश्यक उमेर, शैक्षिक योग्यता र कार्य अनुभवबारे विस्तृत मापदण्ड अझै स्पष्ट गरिएको छैन । भिसा धारकहरूले शिक्षा, संस्कृति, विज्ञान, प्रविधि, उद्यमशीलता र व्यवसायिक गतिविधिहरूमा संलग्न हुन पाउने व्यवस्था हुने सिन्ह्वाले जनाएको छ ।
उता, अमेरिकामा ट्रम्प प्रशासनले एच–१बी भिसामा अप्रत्याशित परिवर्तन गर्दा प्रविधि उद्योगमा असन्तोष बढेको छ । यस भिसाले अमेरिकी कम्पनीलाई वैज्ञानिक, इन्जिनियर र कम्प्युटर प्रोग्रामर जस्ता विशेष सीप भएका विदेशी कामदारलाई तीन वर्षसम्म प्रायोजन गर्ने अनुमति दिन्थ्यो ।
तर नयाँ नीतिअनुसार अब यसका लागि करिब एक लाख डलर बराबरको शुल्क तिर्नुपर्ने छ । प्रत्येक वर्ष लटरी प्रणालीमार्फत वितरण हुने यी भिसामध्ये करिब तीन चौथाई हिस्सा भारतीय नागरिकहरूले पाउने गरेका छन् ।
यसबीच, पिपुल्स डेली ले मङ्गलबार प्रकाशित आफ्नो लेखमार्फत चीनमा नयाँ भिसाले ‘आप्रवासन समस्या सिर्जना गर्ने’ भनी फैलिएका अफवाहलाई अस्वीकार गरेको छ । ‘तथाकथित आप्रवासन सङ्कट साकार हुने छैन, हामीसँग सांस्कृतिक आत्मविश्वास छ’, पत्रिकाले उल्लेख गरेको छ ।