सिंहदरबार जल्दा जनताले थपडी मार्नुपर्ने अवस्था किन आयो ?

-डा.युवराज संग्रौला ।

हाम्रो भविष्य हाम्रो वर्तमानले निर्माण गर्छ । त्यसैले निकास खोजौं, विनास होइन। हाम्रो भूराजनीति हाम्रो अस्तित्व अन्तको कारण नबनोस् । राजनीतिक दलको गुटवादी, नवसामन्तवादी नेतृत्वले अब उप्रान्त बिदा लिनुहोस् । गल्तीको सजाय भोग्नुपर्छ र भविष्यको बाटो अबरोध गर्नु हुन्न । तर परिवर्तनले खोजेको बिगत सच्याउने नाममा हुन कारबाहीको नाममा मानव अधिकारको प्रतिबद्धताका विरुद्धमा कंगारु न्यायलाई लागू गर्नुले शान्ति होइन द्वन्द्व निर्माण गर्ने छ । राज्यले अपराधको संरक्षण गर्नु पनि हुन्न । परिवर्तनले ल्याउने उन्नयन हो बदलाको माहौल होइन । हामीलाई असभ्य हुने अधिकार छैन, कानुनको निष्पक्ष र स्वच्छ पालना गर्ने कर्तव्य मात्र छ। कानुन हातमा लिन पाइँदैन । सुरक्षा निकायको मनोबल कमजोर बनाएर सार्वजनिक सुरक्षा कायम हुँदैन ।

देशमा नागरिकको हत्या भएको र देश जलेको कुरा कदापी गौरवको विषय हुन सक्दैन, तर पनि क्रान्ति, बिद्रोह र आन्दोलनमा हिंसा र उपद्रव हुन्छ । जहाँ मानिसको विवेकले काम गर्छ, त्यहाँ नोक्सानीलाई खपिन्छ, किनकी त्यो हुनुपर्ने बाध्यता भयो । तर असल नागरिक भएको समाजले त्यस क्रान्ति, बिद्रोह वा आन्दोलनलाई ‘गौरवीकरण’ (ग्लोरीफिकेसन) गर्दैन, उपलब्धिहरुलाइ समाजको सेवामा रुपान्तरण गर्दै अघि बढ्छ।

आज नेपालीहरुले यही यथार्थलाई आत्मसात गरेर अगाडी जानुपर्छ । हामी उपद्रवलाई गौरवीकरण गर्दै द्वन्द्वको खेती गर्न उद्दत भएको अनुभूति हुन्छ । हामीले हाम्रो भूराजनीतिलाई ख्यालगर्दै उन्नत निकासको बाटो खोज्नुपर्छ । तसर्थ, हामीले निम्न निकासउका उपायमा राष्ट्रिय जनमत निर्माण गर्नुपर्छ।

१. नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, समाजवादी, जसपा र राप्रपा सबै दलका अध्यक्ष लगायत तपाईंहहरुको कन्द्रीय कमिटीमा पटक, पटक रहनु भएका, पार्टीलाई विविध गुटमा विभाजित गरेर दलभित्र षड्यन्त्रको विशाल जंजाल तयार गर्ने महारथ हासिल गर्नुभएका सबैलाई पार्टीका जिम्मेवार पदबाट बिदा दिएर, विशेष महाअधिवेशनबाट नयाँ नेतृत्व स्थापित गर्नुको कुनै विकल्प छैन । उहाँहरुको राम्रो कामको लगत राख्नु पर्छ र नराम्रो कामको पनि लगत राख्नुपर्छ। भारतीय कांग्रेसले यसो गर्न सकेन, र बिजोग छ । नेपाली कांग्रेसले यो बुझ्नुपर्छ। चिनियाँ कम्युनिस्ट पार्टीले माओकालको मूल्यांकन गर्दै आफूलाई नयाँ नेतृत्वमा लग्यो, आज त्यो चीन निर्माण गर्न सफल भयो। कम्युनिस्टहरुले यो बुझ्नु पर्छ। वर्तमान युवा जनबिद्रोहमा व्यापक घुसपैठ भयो, त्यो सबैलाई थाहा छ । तर आन्दोलन चै तपाईंहरुकाबिरुद्ध भएकै हो र सबै पुस्ताको समर्थन भएकै हो । सचेत नागरिक देश बनाउन बिद्रोह चाहन्थे, तर अभद्र कसैको स्वार्थ बोकेका देश बिरोधी स्वार्थ समूहले देशै जलाइदिए ।

२. हिजो सत्तामा पटक पटक पुगेका र पुग्न आएका कसैलाई ‘देशको माया होइन’ केवल पदको मात्र माया लाग्यो । तपाईंहरु कोहीपनि छैन जसले दृश्य अदृश्य शक्तिका अगाडी घुँडा टेकेको छैन । फरक कति मात्र हो भने कसैका घर जले, कसैका जलेनन् । कोही कसैका घर जलाउन लागे, कोही कसैका । हरेक पार्टीका कोही न कोही अर्काको घर जलाउन लागे र पार्टीभित्रै एक गुटका अर्का गुटका नेताको घर जलाउन पनि लागे । यही बेला राष्ट्रका धरोहर जलाउन विदेशीका प्यादाहरु लागे र उद्धेलित युवा उनका गोटी बने । किन त्यसो भयो, राम्रोसँग ख्याल गर्नुहोस् त, तपाईंहरुका बिगतका कुसंस्कार हेर्नुहोस् त

(क) तपाईंहरुले निर्वाचनलाई पैसा र गुन्डाको बलमा अपवित्र पार्नु भयो कि भएन ?
(ख) पैसा र छ्लछामबाट निर्वाचन जित्न सिडियो र प्रहरी अझ न्यायाधीशसम्म प्रयोग गर्नु भयो कि भएन ?
(ग) राजनीति दर्शनलाई हगनगौंडीमा फ्याक्नु भयो कि भएन ?
(घ) ठेक्का लगाउँदा, आइजिपी नियुक्ति गर्दा सचिव नियुक्ति गर्दा, राजदूत नियुक्ति गर्दा, आयोगका अध्यक्ष नियुक्ति गर्दा, न्यायाधीश नियुक्ति गर्दा पैसा लिनु भयो कि भएन ?
(ङ) आफ्नो वर्गीय आधार र सिद्धान्त छोडेर अपवित्र गठबन्धन बनाउनु भयो कि भएन ? तपाईंहरुका वरिपरि विदेशी चम्चा थिएकी थिएनन् ? पदबाट बाहिर बस्नै नसक्ने चाप्लुसहरुलाई पोस्नु भयो कि भएन ? यी अपराध मंहगा थिए राष्ट्रको सारभौमसत्ता र राज्य व्यवस्थाको आत्मनिर्णयको अधिकारकाविरुद्ध । तपाईंहरुलाई जनताको कहिल्यै याद आएन । ६० किलोको माला ओढाउने चाप्लुसलाई पार्टीका मालिक र पार्टी बनाउने सोझा सिद्धान्तका कुरा गर्नेलाई त मट्टितेल खन्याएर भगाउनु भयो नि अतः यी घोर गल्ती र अन्यायका लागि तपाईंहरुले आफैं स्वेच्छाले पार्टीबाट बहिर्गमन गर्नुपर्छ ।

३. २०४६ सालपछि विदेशी संस्था र सरकारका सल्लाहमा तपाईंहरुले राष्ट्रका सबै सार्वजनिक निगम र संस्थाहरू तथा उद्योगहरु बेच्नु भयो, कमिसन खानु भयो। जेन्जी भाइबहिनीहरु तपाईंहरु पनि तथ्यको खोजी गर्नुहोस् । जो जो आज विदेशी संस्थासँग जोडिएर आन्दोलन गर्दै हुनुहुन्छ तपाईंहरुले माया गरेका ती संस्थाहरुले नै यी नेतालाई बिगार्न भूमिका खेलेका हुन् । यी नेता उनीहरुकै एनजिओको घोडा बनेका हुन। उनीहरुले दिएका सबै पैसा उनिहरुकै गाडी, घर, यात्रा, तलबमा सिध्याएर गए र यी नेतालाई बिलासी पनि बनाए । भ्रष्टाचारको बीउ त यिनैले रोपे जो आज तपाईंमाथि लगानी गर्दैछन् ।

४. नेताज्यूहरु, पजेरो कान्ड सहि थियो ? ललिता निवास कान्ड सही थियो ? भुटानी शरणार्थी कान्ड, गिरिबन्धु कान्ड, वाइडबडी कान्ड, ओम्नी कान्ड सरकारी छापाखाना कान्ड, टेलिकम्युनिकेसनका अनेक कान्ड, यी सबै भएका हुन् र तपाईंहरुले जनताको चित्त दुःखेको कुरा ख्यालै गर्नु भएन। यी गल्ती तपाईंहरुले स्वीकार गर्नैपर्छ । पैसा कसले कसले खाए थाहा छैन । तपाईं प्रधानमन्त्री भएकाहरुले खाएको थिएन होला मानौं, तर छानबिन हुन किन दिनु भएन ? अहिले सिंहदरबार र अन्य निकायमा आगो लगाउने मान्छेले अपराध गरेकै हो, तर जनताले थपडी मार्नुपर्ने अवस्था तपाईंहरुले निर्माण गर्नु भएको हो ।

५. मानिसले चालक सवारी प्रमाणपत्रको डिजिटल कार्ड बनाउन कतिसमय भयो पैसा बुझाएको थाहा छ ? राष्ट्रिय परीचयपत्र बनाउँदा मानिसलाई कति हैरान पारियो थाहा छ ? परिचयपत्र बनाउँदा के के सूचना मागियो थाहा छ? कति पटक मानिसले प्रमाणित गर्नु पर्ने हो म नेपालको नागरिक हुं भनेर ? इम्बोस्ड नम्बरको नाटक देख्नु भयो ? सबै नेपालीका व्यक्तिगत सूचना विदेशीले लाने योजना तपाईंहरुलाई थाहा नभएकै हो र ? होइन, थाहा छ । यी सबै कुराका पछाडि कमिसन छैन ? छ । तपाईंहरुले भन्सारमा भ्याट लगाउनु भएको छैन ? यी सबै कुराले तपाईंहरुले आफना दलहरूलाई यति कमजोर बनाउनु भयो कि पार्टीमा निर्भिक उतराधिकारी जन्मन नपाउने गरि बन्ध्याकरण नै गर्नु भयो ।

६. तपाईंहरुलाई थाहा छ तपाईंहरुका गुटवाद र पार्टीमा एकाधिकार कायम गर्ने नवसमान्तवादले कति राम्रा उन्नत शिक्षित युवा पुस्ताको राजनीतिमा जीवन नास भया ? उनीहरु गरीब मात्र भएनन्, राजनीतिप्रति नै बितृष्णाका शिकार भए । अनि कतिले जीवन धान्न ठगी गर्न र बाउन्सर बन्नुपर्ने भयो । यी उर्बर दिमाग ध्वस्त पारेर आज तपाईंहरु यहाँ आइपुग्दा के हालत भयो देशको ?

७. झोले र दोग्ला बुद्धिजीबीलाई काखमा च्यापेर, आफ्नो स्वाभिमानमा बाँच्नेलाई कुकुर लखेटझैं लखेट्नु भयो । तिनै तपाईंहरुका चम्चा आज ठाडो हात लगाएर तपाईंको घर जल्दा ताली पिट्दै छन् । निःस्वार्थ, देशभक्त र विज्ञ कर्मचारीको हुर्मत लिएको थाहा छ ? कस कसलाई राजदूत, भिसी, डिन, आयोगका अध्यक्ष बनाउनु भएन ? कहाँ पुर्याए तिनले आज विश्वविद्यालयहरु ! विचारा तपाईंहरु, खोइ ती मान्छे आज तपाईंको बेहालका दिनमा ?

८.  तपाईंहरु त ‘रेशमका नयाँ लुगा लगाउन नांगो महाराजा’ को शैली र प्रवृत्तिमा मुग्ध रहनु भयो, एकवर्ष अगाडिदेखि भैरहेको यो घटनाको कुनै सु्इँको नै पाउनु भएन ।

९. अतः अब युवापुस्तालाई जिम्मा दिनुहोस् । तपाईंहरुका कुनै पार्टी कुनै भन्दा कुनै कम छैनन्, नेताको सामान्तीपन निर्माणमा । तर तपाईंहरुले आज बिगारेका ती पार्टी इतिहासका धरोहर हुन्, जनताको त्यागले निर्माण गरेका ।

१०. अब देशले नयाँ नेतृत्वको निर्माण गर्नुपर्छ जसले विज्ञान, उत्पादन र स्वरोजगार निर्माण गर्ने शिक्षा, राष्ट्रिय सुरक्षा र जनताको आयार्जन निर्माण गर्ने अर्थतन्त्र, विदेशी मित्रहरूसँग समान सहयोग र समान दूरी कायम गर्ने विदेश नीति, भारतसँगको सांस्कृतिक समिपता र चीनसँगको आर्थिक विकासको सहकार्यको कुटनीतिक संस्कृति, विदेशी सहायताको दुब्र्यव्यसनबाट मुक्त भै उत्पादनमा स्वनिर्भरता, र युवाहरुद्वारा डिजिटल क्रान्तिको वातावरण, पर्यावरणीय ब्रिगेड बनाइ जंगल र कृषिको योगद्वारा राष्ट्रिय आम्दानी निर्माण र वातापरणको संरक्षण, र राष्ट्रिय उत्पादनका लागि उत्पादन ब्रिगेड बनाइ देशलाई अगाडी लानुपर्छ । निकम्मा भ्रष्ट कर्मचारीतन्त्र जो शासनमा बसेर देश बिरोधी काम गर्छ त्यसको पुनर्संरचना गर्नुपर्छ । आफू देशमा बसेर भ्रष्टाचार गर्ने र छोराछोरी विदेशका नागरिक बनाउनेको सम्पत्ति जाँच हुनैपर्छ । भ्रष्टाचार राजनीति दलमा बिचार र नैतिकताको राजनीति संस्कारको पुनर्जागरण भएपछि आफैं ठिकठाक हुन्छ। अब युवाहरूले आविष्कार र डिजिटल क्रान्तिमा लाग्नुपर्छ । बौद्धिकहरुको नेतृत्वमा युवाहरूले लोकतन्त्रलाई ‘दलतन्त्रबाट झिकी नागरिक सर्वोेच्चता’ को मार्गबाट सामाजिक नागरिकतन्त्रको संस्थापन तर्फ लाग्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *