काठमाडौं । नेपाली कांग्रेसले भदौ २४ का आक्रमणकारीलाई उन्मुक्ति दिने कार्य स्वीकार्य नहुने बताएको छ । बुधबार कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी अपराधीहरुलाई उन्मुक्ति दिने आशयको गृह मन्त्रालयले विज्ञप्ति जारी गरेको भन्दै कांग्रसले आपत्ति जनाएको हो ।
प्रदर्शनका क्रममा भएका घटनाको छानबिन गर्न सरकारले न्यायिक छानविन आयोग गठन गरेको कुरा स्वागतयोग्य भएपनि योजनावद्ध आक्रमण गर्नेमाथि उन्मुक्ति दिने कुरा स्वीकार्य नहुने कांग्रेसले बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक प्रदर्शनको आवरणमा गरिएको नियोजित र निर्देशित योजनावद्ध आगजनी गर्ने, राजनीतिक दल र दल विषेशका नेताहरुमाथि बदलापूर्ण, प्रतिसोध लिने उद्देश्यले छानीछानी खोजीखोजी आक्रमण गर्ने उनीहरुका कार्यालयहरु त्यसै गरि तोडफोड, लुटपाट र आगजनी गर्ने, सुरक्षाकर्मीको हातहतियार र वर्दी लुट्ने अनि सोही वर्दी लगाई हात हतियार वोकेर आतङ्क फैलाउदै हिडेको अवस्थामा देखिएका भेटिएका व्यक्ति उपर प्रचलित कानून वमोजिम कुनै खोजतलास नगर्ने, कानूनी कार्बाही नगर्ने भन्ने आसयको गृहमन्त्रालयबाट मिति २०६२/६/९ मा जारी गरिएको विज्ञप्ति र सोही विज्ञप्तिको आधारमा गरिएको परिपत्रले संवीधानवाद, कानूनी राज्य र विधीको शासनको धज्जी उडाएको छ । यसरी पीडितलाई आतङ्कित गर्ने र सप्रमाण भेटिएका अपराधीहरुलाई उन्मुक्ति दिदै जाने सरकारको निति हो भने नेपाली जनताका लागि कदापी स्वीकार्य हुने छैन ।’