काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले सरकारले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्ने निर्णय गरेकोमा आपत्ति प्रकट गरेको छ ।
संघले मंगलबार विज्ञप्ति जारी गरी सरकारको निर्णयलाई विशुद्ध राजनीतिक प्रतिशोध र पूर्वाग्रहमा आधारित रहेको आरोप लगाएको हो ।
संघले जाँचबुझ आयोगको कुनै आधार वा प्रमाणबिनै प्रारम्भिक चरणमा नै ओलीमाथि शंका गरेर राहदानी रोक्ने निर्णय गरेको भन्दै त्यसको निन्दा गरेको हो ।
छानबिन नै नगरी कसैलाई अपराधी करार गर्ने गरी गम्भीर प्रकृतिको निर्णय गर्नु आपत्तिजनक रहेको संघका अध्यक्ष क्षितिज थेवेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै युवा संघले यो घटनालाई पूर्वप्रधानमन्त्रीको सम्पूर्ण जीवन देश र नेपाली जनताको हितमा समर्पित भएको तथ्यलाई समेत उपेक्षा गर्दै गरिएको अराजनीतिक कार्यका रूपमा लिएको छ ।
त्यस्तै संघले एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतमाथि समेत प्रतिशोधपूर्ण ढंगले मुद्दा चलाउने तयारी भइरहेको भन्दै सरकारलाई यस्ता क्रियाकलापबाट पछि हट्न जोडदार माग गरेको छ ।